८२ वर्षमा नागरिकता

धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,३ असार्।राप्ती–११ का लालबहादुर विश्वकर्मा विं.सं. १९९३ मंसिर २ गते जन्मिएका हुन् । नागरिकता बनाउनुपर्छ भन्ने उनमा चेतनै भएन । नागरिकताको महत्व उनलाई थिएन । उसो त उनका बाबुको पनि नागरिकता नभएकै कारण उनले उति वास्ता गरेनन् ।
उनका छोरा र भाइको भने नागरिकता छ । भाइले गाउँ पञ्चायतका बेला र छोरा तुलबहादुर विश्वकर्माले नागरिकता बनाउने टोली जाँदा बाबुको नागरिकताविनै बनाए । नागरिकता टोलीको भारी बोकेकै भरमा उबेला नागरिकता बनाएको लालबहादुरकी बुहारीले बताइन् । यसबीचमा केही प्रयास गरेपनि लालबहादुरले नागरिकता पाउन सकेनन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको समन्वयमा आयोजना गरेको एकीकृत घुम्ती सेवा शिविरमा लालबहादुरले नागरिकता पाए । बाबुको नागरिकता नभएपनि भाइको नागरिकताका आधारमा लालपुर्जा पाउँदा उनी खुसी देखिन्थे । जीवनको अन्तिम समयतिर भएपनि नेपाली हुँ भन्न पाउँदा खुसी लागेको लालबहादुरको प्रतिक्रिया छ ।

“नागरिकता बनाउनुपर्छ भन्ने सुझावमा आधारमा उनी भाइ, बुहारी र नातिका साथमा नागरिकता बनाउन राप्ती–११ स्थित राष्ट्रिय आधारभूत विद्यालय आँपपानी आएका थिए ।
राप्ती–११, सालबिसौनीका दलबहादुर प्रजाले पनि ५४ वर्षको उमेरमा शनिबार नागरिकता बनाएका छन् । वि.सं. २०१९ सालमा जन्मिएका दलबहादुरले भाउजू निरमायासँगै घुम्ती शिविरमार्फत नागरिकता बनाएका हुन् । उनको पनि बाबुको नागरिकता छैन । दलबहादुरले पनि भाइको नागरिकताकै आधारमा ५४ वर्षको उमेरमा नागरिकता पाए । श्रीमान्को नागरिकताकै आधारमा निरमायाले पनि ५२ वर्षमा नागरीता प्राप्त गरिन् ।
दलबहादुरका ३ छोरा र ४ छोरी छन् । उनीहरु कसैको पनि नागरिकता बनेको छैन । जेठी छोरी ३३ वर्षकी भइन् । “पहिला केही थाहा थिएन अहिले बुझ्दै जाँदा नागरिकता नभई नहुने रै’छ”, दलबहादुरले भने, “सेवासुविधा र भावी सन्ततीका लागि भएपनि नागरिकता बनाउनु पर्दोरहेछ ।” उनीहरु करिब साढे २ घण्टाको दूरी पार गर्दै नागरिकता बनाउन आएका थिए । नागरिकता बनाउनका लागि भरतपुर पुग्नुपर्ने बाध्यता छ । तर, घुम्ती शिविरबाटै नागरिकता पाउँदा स्थानीय खुसी देखिन्थे ।
शिविरको पहिलो दिन ५९ वटा नागरिकता र ४ वटा अपाङ्गता परिचय पत्र वितरण गरिएको शिविरको नेतृत्वकर्ता जिल्ला प्रसासन कार्यालय चितवनका प्रसासकिय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । शिविरमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, राप्ती नगरपालिकाका मेयर प्रभा, उपमेयर इमानसिंह लामालगायतले नागरिकता, ज्येष्ठ नागरिक परिचय पत्र, अपाङ्गता परिचय पत्र वितरण गरेका थिए । महिला तथा बालबालिका कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, भरतपुर अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, नगरपालिकाको कृषि र पशु सेवा शाखालगायतले पनि सेवा प्रवाह गरेका थिए । जिल्ला कृषि विकास कार्यालयले तरकारीको विउविजन तथा नगरपालिकाको कृषि शाखाले कृषि औजार वितरण गरेको थियो । सदरमुकामबाट टाढा रहेका ग्रामीण क्षेत्रका स्थानीयलाई मध्यनजर गर्दै घरगाउँमै सेवा पु¥याउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय चितवनले वर्षमा ३–४ वर्ष शिविर सञ्चालन गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट