विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१७ जेठ ।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नारायणगढ–मुग्लिङ सडक खण्ड निर्माणमा भएको ढिलाइबारे छानविन गरिने बताएका छन् । भरतपुर विमानस्थलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले विकास निर्माणका पूर्वाधार निर्माण सन्दर्भमा भएका कमीकमजोरी, अनियमितता, ढिलासुस्तीमा सरकार कठोर कदम चाल्ने बताए ।
“भर्खरै अवधि सकिएको छ । ढिलासुस्तीबारे सरकारले छानविन गर्नेछ”, उनले भने, “छानविन गरेलगत्तै ठोस निर्णय लिइनेछ ।” नारायणगढ–मुग्लिङ सडकखण्डको तीन खण्डमध्ये एक खण्डको मात्रै काम पूरा भएको छ । आयोजनाको समग्रमा ८९.८ प्रतिशत काम पूरा भएको छ । छैटौंपटक म्याद थपका लागि निर्माण कम्पनीले दबाब दिइरहेका छन् । “विकास निर्माणका क्षेत्रमा देखापर्ने भ्रष्टाचार, अनियमिता, ढिलासुस्तीप्रति सरकार गम्भीर छ”, उनले भने, “निश्चित अवधिमा निर्माण पुरा नगर्ने कारवाहीको दायरामा आउने छन् ।”
गृहमन्त्री थापाले देशलाई विखण्डन गर्ने, अर्को राज्यसत्ता स्थापित गर्ने भन्दै बनेका शक्तिलाई राजनीतिक मूलधारमा आउन आग्रह गरे । “केही शक्तिले गणतन्त्रलाई स्वीकार गरिहेका छैनन् । अर्को राज्यसत्ता स्थापित गर्ने कुरा गरिरहेका छन्”, उनले भने, “राजनीतिकरुपमै हल गर्न सरकार तयार छ । प्रशासनिकरुपमा यसलाई नियन्त्रण गर्ने कदम लिइरहेको छ ।” विप्लव, सिके राउतलगायतका शक्तिलाई सेनाकै निगरानीमा राख्नुपर्ने आवश्यकता नदेखिएको जिकिर उनले गरे । “अस्थिरता पैदा गर्ने दुष्प्रयास भइरहेका छन्”, उनले भने, “देशमा स्थायित्व र शान्ति कायम गर्न सरकार लागिपरेको छ ।”
बालकृष्ण रिहाइ सामान्य
गृहमन्त्री थापाले नेता बालकृष्ण ढुंगेलको रिहाइ नियमित प्रक्रिया नै भएको बताएका छन् । “हिजो पनि राजनीतिक मुद्धाका रुपमा नै सबै दलले निर्णय गरेका हुन्”, उनले भने, “कतिपय कानूनी दृष्टिकोणले त्यसलाई अस्वीकार गरिएको थियो । अहिले गणतन्त्र दिवसको अवसरमा ४० प्रतिशत कैद भुक्तान गरेपछि मुक्त हुनुभएको हो ।”
समृद्धि सुनिश्चित गर्ने बजेट
गृहमन्त्री थापाले सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि जारी गरेको बजेट विकास र समृद्धिलाई सुनिश्चित गर्ने गरी आएको बताएका छन् । “यो ५ वर्षमा विकासका ठोस पूर्वाधार निर्माण गर्ने गरी आएको छ”, उनले भने, “विकास र समृद्धिको अभियानलाई सुनिश्चित गर्ने आफ्नो लक्ष्य लिएको छ । आर्थिक वृद्धिदर ८ प्रतिशत गर्ने लक्ष्य राखेको छ ।” उनले सुशासनलाई सुदृढ गर्ने गरी बजेट आएको प्रतिक्रिया दिए । अहिलेको सरकारको मुख्य नारानै विकास र समृद्धि भएककाले बजेट यही मान्यतामा आधरित रहेको बताए । उनले चुनावी घोषणापत्रको ‘स्पिरिट’ भन्दा पनि अहिलेको सरकारको ‘स्पिरिट’ अनुसारनै बजेट आएको टिप्पणी गरे । उनले बजेट परिमार्जन गर्न बहस आवश्यक रहेको बताए । उनले विकास र समृद्धिको जिम्मेवारी बहुमत ल्याउने पार्टीको मात्रै नभएर प्रतिपक्षको पनि भएकाले विकासका सवालमा प्रतिपक्ष हुन नहुने बताए ।
छिट्टै जनसंगठनको एकता
नेता थापाले दुई ठूला कम्युनिष्ट पार्टी एकीकरणबाट शक्तिशाली पार्टीको जन्म भएको बताएका छन् । उनले पार्टीको थप एकता प्रक्रिया चलिरहेको बताए । “तल्लो तहसम्म छिटै एकता प्रक्रिया पूरा गर्ने निर्णय भएको छ”, उनले भने, “क्षेत्र, प्रदेश, जिल्लामा रहेका इकाइसम्म पार्टी एकिकरण प्रक्रिया हुँदैछ । छिट्टै जनसंगठनको पनि एकता हुन्छ ।” उनले काठमाडौंमा २५ देशका कम्युनिष्ट पार्टीका नेता सहभागी भएको अन्तरक्रिया तथा छलफलले नेपालमा समाजवाद स्थापनाका लागि वैचारिक संशलेषण र राजनीतिक कार्यदिशाका निम्ति महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको बताए । उनले ‘फोरम’ सँग तत्काल एकता हुन नसक्ने बताए । “चुनावअघि नै सँगै चुनाव लडौँ । एकता प्रक्रियामा पनि सहभागी गराऔं भन्ने प्रयत्न गरेका थियौँ”, उनले भने, “त्यो प्रयत्न सफल भएन । ढिलै भएपनि सरकारमा सहभागी हुँदै हुनुहुन्छ । तर, एकता नै भइहाल्छ भन्ने अवस्था छैन ।”
बक्स हाल्ने
एक खण्ड मात्रै सम्पन्न
नारायणगढ–मुग्लिङ सडकखण्डको तीनमध्ये एक खण्डको काम सकिएको छ । पाचौं पटक थपिएको मिति बुधबार सम्पन्न भए पनि बाँकी दुई खण्डको काम भने सकिएको छैन । नारायणगढ–मुग्लिङ सडक आयोजनाका ईञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०.७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई जानकारी गराएको छ ।
सो सडकको काम हाल सम्पन्न भएपनि एक वर्षसम्म भत्के बिग्रिएमा हेर्नुपर्ने भएकाले बजेटको हिसाबले शतप्रतिशत सम्पन्न भएको देखिदैन । खनालका अनुसार आँपटारीदेखि दासढुंगासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।
यसमध्ये बीचको खण्ड उडहिल लामा जेभीले काम सम्पन्न गरेको हो । उसले ९७ प्रतिशत काम सम्पन्न गरेको छ भने पहिलो खण्ड बिएलए श्रेष्ठ जेभीले ८९.६ प्रतिशत र तेस्रो खण्ड सुप्रिम रौताहा जेभीले ८४ प्रतिशत काम सम्पन्न गरेका छन् । समग्रमा ८९.८ प्रतिशत काम सम्पन्न भएको खनालले बताए । सो सडकको पाँचौँ पटक थप गरिएको मिति पहिलो खण्डको मे १०, दोस्रो खण्डको मे २० र तेस्रो खण्डको मे ३० मा सम्पन्न भएको छ । पुनः मिति थपका लागि तीनवटै कम्पनीले परामर्शदाता कम्पनीलाई आग्रह गरिसकेका छन् । हाल सो सडकको ४५० मिटरबाहेक अन्यत्र एक तह र कतिपय तेस्रो तहको कालोपत्रको काम सम्पन्न भएको छ ।
सो सडक आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीका अनुसार तेस्रो खण्डको चेपाङ डाँडामा बुधबार साँझसम्ममा भित्तो काट्ने काम सकिन्छ भने दुई दिनमा कालोपत्रको पहिलो तह सम्पन्न हुने बताए । तेस्रो खण्डकै एङ्कर वाल उठाउने काम बाँकी रहेकाले झण्डै तीन हप्ता सो कामका लागि समय लाग्ने अनुमान गरिएको छ । सो सडक हेर्दै आएका प्रविधिज्ञले असार मसान्तसम्ममा अन्य दुई खण्ड पनि सम्पन्न हुने अनुमान गरेका छन् । चाँडै वर्षात् भएकाले काममा केही ढिलाइ भएको जनाइएको छ ।





