माडीमा विद्युत सेवा विस्तारमा ढिलाई

विप्लव काफ्ले/कायाकैरन
भरतपुर, २९ बैशाख ।
माडी नगर क्षेत्रका अधिकांस वस्तीमा विद्युतीय सेवा पुग्न सकेको छैन । नगरपालिका घोषणा भएको झण्डै ४ वर्ष पुरा हुन लाग्दा अझै माडीका गाउँमा विद्युत सेवा पुगेको छैन । अधिकांस स्थानीय सौर्य उर्जाको भरमा छन् ।
“आगामी आर्थिक वर्ष माडीमा पूर्ण रुपमा विद्युत सेवा विस्तार हुनेछ”, माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले भने, “केन्द्रीय तहमा आग्रह गरेका छौँ । सोही अनुसार विद्युतीकरणको कामले तीव्रत पाउनेछ ।” उनका अनुसार नेपाल विद्युत प्राधिकरणले गाउँ गाउँमा विद्युत विस्तार कामलाई निरन्तरता दिइरहेको छ । २०७३ मंसीर ४ गते तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले माडी विद्युत सबस्टेशनको उद्घाटन गरेलगत्तै स्थानीयले विद्युत सेवा उपभोग गर्न सुरु गरेका थिए । तत्कालिन मन्त्री शर्माले माडीका सबैघरमा विद्युत् पु¥याउन ५० लाख विनियोजन गरेको जानकारी दिदै आवश्यक रकम नपुगे माग गर्न निर्देशन दिएका थिए । तर, विद्युतीकरणको कामले गती लिन सकेको छैन । “चितवन राष्ट्रिय निकुञ्ज खण्डभित्रको भूमीगत तारको वैकल्पिक व्यवस्थाबारे अध्ययन भैरहेको छ”, मेयर ढकालले भने, “तारमा खराबी आउँदा बेलाबखत अवरुद्ध हुने अवस्था थियो । अब गुणस्तरीय तार विछ्याउने गरी बजेट विनियोजन गर्ने तयारी छ ।” उनका अनुसार निकुञ्जभित्रको भूमीगत तार (अण्डरग्राउण्ड केवल) लाई यथावतै राखेर सो खण्डमा फेरी तार बिछ्याइने छ । जसले तार खराबी हुने समस्या आउँदा नयाँ तारबाट विद्युत प्रवाह हुने व्यवस्था मिलाइनेछ ।


नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर अविनाश महतले चालु आर्थिक वर्षमा प्राधिकरणले विनियोजन गरेको ४० लाख बजेटबाट विद्युत विस्तारका काम भैरहेको बताए । उनका अनुसार गाउँ गाउँसम्म विद्युत सेवा पु¥याउन ट्रान्सफर्मर जडान, पोल विस्तार लगायतका काम भैरहेका छन् । माडीमा हाल ५ हजार घरधुरीले विद्युत सेवा उपभोग गरेका छन् । “१२ स्थानमा लोड सेन्टर बनाउँदै छौँ”, माडी बसन्तपुर सबस्टेशनका इञ्चार्ज आनन्द कुँवरले भने, “१२ वटा ट्रान्सफर्मर राखेपछि झण्डै ३ किमि भित्रका वस्तीसम्म विद्युत सेवा विस्तार हुनेछ ।”
उनका अनुसार बनकट्टा, भैरवपुर, अम्वाबास, ढिकुरवारी, लक्ष्मीवास, स्याउलीबास, अयोध्यापुरी, दिवानगर, चौकीडाँडा, तल्लो र माथिल्लो सितलपुरमा राखिने लोडसेन्टरले गाउँगाउँसम्म विद्युत पु¥याउन सहज हुनेछ । “स्थानीय मिटर बक्स लिन गाउँगाउँबाट निवेदन आउने गरेका छन्”, उनले भने, “स्थानीयमा जागरुपता आएको छ । छिटै विद्युत विस्तारको कामले पूर्णता पाउनेछ ।” उनले रिउ लगायतका अन्य खोलाले गर्दा पोल विस्तारमा समस्या पारेको बताए । माडी नगरपालिकाले उपलब्ध गराएका ६६३ थान पोल गाड्ने काम भएका छन् । माडीको वसन्तपुरमा भरतपुर–माडी ३३ केभिए प्रसारण लाइन पुगेको छ । नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयले सञ्चालन गरेको परियोजना अन्तर्गत माडीमा विद्युतीकरणको काम २०६६ सालबाट विद्युत पूर्वाधारको कामले गती पाएको थियो । ११ हजार भोल्टको प्रसारण लाईनबाट २ वटा फिडर मार्फत वितरण गरिने विजुलीको लागि माडी क्षेत्र भरि २४ वटा टान्र्सफर्मर जडान गरिएका छन् ।
मिटरबक्सबाटै विद्युत चोरी
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले मिटरबक्सबाटै विद्युत चोरी गर्ने घटना बढ्न थालेको बताएको छ । वितरण केन्द्रको चुहावट नियन्त्रण शाखाका इञ्जिनियर अविनाश महतले यो वर्ष मिटरबक्सबाटै विद्युत चोरी गर्ने २९ जना कारवाहीमा परेको बताए । जसबाट ५ लाख ७८ हजार ४ सय ६३ रुपैयाँ राजश्व संकलन भएको छ ।
“हुकिङ हटेको छ । तर मिटरबक्सबाटै चोरी गर्ने क्रम बढेको छ”, उनले भने, “बेलाबखत हुने छड्के चोकजाँचका क्रममा कारवाही अभियान चलाएका छौँ ।” मिटरमा प्वाल पार्ने, डिस्कनै नघुम्ने बनाउने, वाइपास गर्ने लगायतका काम गरेर विद्युत चोरी गर्ने गरेको पाइएको बताए । उनले नयाँ घर बनाउँदा, वेल्डीङका काम, पानी तान्ने काममा विद्युत चोरी बढी हुने गरेको पाइएको बताए । “विद्युत चोरी गरेको पाइएमा विद्युत खपतको अनुमान गरेर दोब्बर बढी जरिवाना लिने गरिएको छ”, उनले भने, “अनुगमन टोली खटिएको छ ।” यस्तै हुकिङ मार्फत चोरी गर्ने ९ जनाबाट ३९ हजार १ सय रुपैयाँ जरिवाना लिइएको छ । वितरण केन्द्रले १० दशमलव शून्य २ प्रतिशत प्राविधिक र अप्राविधिक चुहावट हुने गरेको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट