सार्वजनिक बिदाको दिन नारायणी महोत्सवमा दर्शकको घुइँचो

चितवन, १२ मङ्सिर ।

चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा शनिबार दर्शकको उल्लेख्य घुइँचो लागेको छ ।

महोत्सवको दशौँ दिन सार्वजनिक बिदा परेकाले बिहानैदेखि दर्शकको चहलपहल बढेको थियो । पिरामिड गेट, विभिन्न स्टल, बाल उद्यान, खेल परिसर तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेको स्टेज परिसरमा दिनभर दर्शकको बाक्लो उपस्थिति देखिन्थ्यो ।

सार्वजनिक बिदाका कारण परिवारसहित महोत्सव घुम्न आउनेको सङ्ख्या पनि उल्लेख्य थियो । महोत्सवमा दर्शकको चाप बढेसँगै नारायणगढ बजार क्षेत्रमा समेत चहलपहल बढेको छ ।

रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मङ्सिर ३ गतेदेखि दोस्रो नारायणी महोत्सव २०८३ सञ्चालन भइरहेको छ । महोत्सव मङ्सिर १८ गतेसम्म चल्नेछ ।

नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो । आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने र स्थानीय संस्कृतिको जगेर्ना गर्ने उद्देश्य महोत्सवले राखेको छ ।

आयोजकले महोत्सवको सफलतालाई आयोजक संस्थाको सफलतामा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रूपमा लिएको जनाएको छ ।

महोत्सवमा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति, नारायणी कला मन्दिर नारायणगढका विभिन्न सांस्कृतिक कार्यक्रम तथा आदिवासी जनजातिका सांस्कृतिक प्रस्तुति भइरहेका छन् ।

विभिन्न व्यापारिक तथा व्यावसायिक स्टलका अतिरिक्त बाल उद्यान, जिरो ग्र्याभिटी राइड, ३६० डिग्री राइड र आकर्षक पिरामिड गेट महोत्सवका प्रमुख आकर्षण बनेका छन् ।

महोत्सव प्रवेशका लागि साधारण टिकट रु. १०० र विद्यार्थी टिकट रु. ८० निर्धारण गरिएको छ । केही दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म विशेष कन्सर्टसमेत आयोजना गरिनेछ । कन्सर्ट जोनमा प्रवेशका लागि साधारण टिकट रु. ३०० र भिआईपी टिकट रु. ५०० तोकिएको छ । कन्सर्टमा सहभागी नहुने दर्शकले भने रु. १०० र विद्यार्थीले रु. ८० कै टिकटमा महोत्सव अवलोकन गर्न पाउनेछन् ।

बाढीका कारण कुरूप र अस्तव्यस्त बनेको नारायणी नदी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर महोत्सव सञ्चालन गरेको हो । आयोजकले महोत्सवमा सहभागी भई सफल बनाउन सबैलाई आग्रह गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट