भरतपुर, १२ मङ्सिर ।
नेपाल जेसीजको आगामी वर्ष २०२७ को राष्ट्रिय अध्यक्ष पदका उम्मेदवार जेसी अमर घिमिरेले परम्परागत चुनावी शैलीलाई परिवर्तन गर्दै सहभागितामूलक र एजेन्डाकेन्द्रित अभियान सुरु गरेका छन् । नारायणगढ जेसीज (JCI Narayangarh) सँग आबद्ध घिमिरेले सामाजिक सञ्जालमार्फत एक विशेष डिजिटल सर्वेक्षण सार्वजनिक गर्दै आम सदस्यहरूको प्रत्यक्ष अपेक्षा र प्राथमिकताबारे विमर्श थालेका हुन् ।
निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता एकतर्फी रूपमा सार्वजनिक गर्ने प्रचलन विपरीत घिमिरेले सदस्यहरूकै सुझावका आधारमा भावी योजना तय गर्ने रणनीति लिएका छन् ।
उनले “जेसीजलाई योगदान दिनुभएको छ, अब जेसीजबाट तपाईंको अपेक्षा के छ?” भन्ने मूल प्रश्नमार्फत सदस्यहरूलाई नै नीति निर्माणको केन्द्रमा राख्ने प्रयास गरेका छन् ।
घिमिरेले वर्ष २०२७ का लागि सदस्यहरूसामु तीनवटा मुख्य एजेन्डाहरु’ प्रस्तुत गरेका छन् । उनका प्रमुख प्राथमिकताहरूमा बदलिँदो परिवेशअनुसार युवाहरूको नेतृत्व र व्यक्तित्व विकास, संस्थागत सञ्जाललाई उद्यमशीलतासँग जोड्ने व्यवसायिक सम्बन्ध र अवसर विस्तार, तथा देशभरका स्थानीय शाखाहरूलाई सुदृढ बनाउने सशक्त शाखा र संस्थागत विकास रहेका छन् ।
भड्किलो प्रचारप्रसारभन्दा वैचारिक बहस, पारदर्शिता र सदस्यहरूको अपनत्वलाई जोड दिने घिमिरेको यो शैलीले जेसीज वृत्तमा सकारात्मक तरङ्ग पैदा गरेको छ ।
सदस्यहरूबाट प्राप्त सुझावलाई समेटेर तयार हुने उनको औपचारिक प्रतिबद्धता पत्र कस्तो बन्नेछ भन्नेमा अहिले सबैको चासो बढेको छ ।




