चितवन, १२ मङ्सिर।
श्रीमतीको निधनपछि अर्को विवाह नगरी चार सन्तानको पालनपोषण, शिक्षा र भविष्य निर्माणमा जीवन समर्पित गरेका चितवनका धर्म कार्की प्रेरणाका पात्र बनेका छन् ।
भरतपुर महानगरपालिका–८ निवासी कार्कीले २०६७ असार ४ गते सर्पदंशका कारण श्रीमती कमला कार्कीलाई गुमाएका थिए । त्यतिबेला उनी ३६ वर्षका थिए भने उनका चार सन्तान सानै थिए। कान्छो छोरा पाँच वर्षका मात्रै थिए ।
श्रीमतीको निधनपछि आफन्त र समाजले अर्को विवाह गर्न सुझाव दिए पनि उनले त्यसो गरेनन् । बरु, बुवाको जिम्मेवारीसँगै आमाको माया दिँदै चारै सन्तानको पालनपोषण र शिक्षादीक्षामा आफूलाई समर्पित गरे ।
उनका चार सन्तानमध्ये छोरा आकाश र माइली छोरी सम्झना चिकित्सक बनेका छन् । कान्छी छोरी संगीता इन्जिनियर बनेकी छन् भने जेठी छोरी जयन्तीले बीएन नर्सिङ अध्ययन पूरा गरेकी छन् ।
सन्तानको भविष्य निर्माणका लागि आफ्ना रहर र आवश्यकतालाई पछाडि राखेका धर्मले उनीहरूको शिक्षामा विशेष ध्यान दिए । सन्तानको खुसी र सफलतालाई नै जीवनको उद्देश्य बनाएका उनले श्रीमतीको सम्झनालाई जीवन्त राख्न हालै निर्माण गरेको घरको नामसमेत ‘कमला स्मृति निवास’ राखेका छन् ।
पारिवारिक जिम्मेवारीसँगै उनी सामाजिक तथा शैक्षिक गतिविधिमा पनि सक्रिय छन्। विभिन्न विद्यालय, सामाजिक संस्था, मन्दिर निर्माण तथा सामुदायिक अभियानमा योगदान पुर्याउँदै आएका कार्की अहिले आफैँ पनि अध्ययनरत छन् । उनी वीरेन्द्र क्याम्पसमा बीए अध्ययन गरिरहेका छन् ।
सन्तानलाई थप अध्ययन गराउने र उनीहरूको भविष्य सुनिश्चित गर्ने आफ्नो जिम्मेवारी अझै बाँकी रहेको उनी बताउँछन् । सन्तान विदेश नगई स्वदेशमै बसेर काम गरून् भन्ने उनको चाहना छ ।
३६ वर्षको उमेरमा जीवनसाथी गुमाउँदा पनि विचलित नभई १७ वर्षसम्म चार सन्तानको भविष्य निर्माणमा खटिएका धर्मको जीवन सङ्घर्ष, समर्पण र अभिभावकीय जिम्मेवारीको प्रेरणादायी उदाहरण बनेको छ ।





