काठमाडौं । बालविवाह अन्त्य तथा बालअधिकार संरक्षणका लागि पत्रकार, सरकारी निकाय र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।
बालविवाह, कम उमेरमा हुने विवाह तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित छलफलमा सहभागीहरूले बालविवाह न्यूनीकरणका लागि कानुनको प्रभावकारी कार्यान्वयन र जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याएका हुन् ।
जस्ट राइट्स फर चिल्ड्रेन नेपाल र भ्वाइस अफ चिल्ड्रेनको आयोजना तथा बागमती प्रदेशको सञ्चार रजिस्ट्रारको कार्यालयको सहकार्यमा आयोजित कार्यक्रममा बालविवाह अन्त्यमा पत्रकार तथा सरोकारवालाको भूमिका र जिम्मेवारीबारे छलफल गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले बालअधिकारको विषयलाई सार्वजनिक बहसमा ल्याउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । बालबालिकासम्बन्धी समाचार सम्प्रेषण गर्दा उनीहरूको गोपनीयता, मर्यादा र अधिकारको संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दले सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त बनाउन विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
जस्ट राइट्स फर चिल्ड्रेन नेपालका कार्यक्रम अधिकृत विष्णु थापाले बालविवाह अन्त्यका लागि पत्रकार, सरकारी निकाय र अन्य सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले बालविवाह अन्त्य र बालअधिकार संरक्षणका लागि निरन्तर काम गर्ने प्रतिबद्धतासहित सामूहिक शपथ लिएका थिए ।





