नारायणी नदीको किनारमा एकीकृत तटबन्ध निर्माण गर्न सरोकारवालाको जोड

भरतपुर । नारायणी नदीको बाढी र कटानबाट नारायणगढ बजार तथा गैँडाकोट क्षेत्रका बस्ती जोगाउन दुवै किनारमा एकीकृत र सन्तुलित तटबन्ध निर्माण गर्न सरोकारवालाले जोड दिएका छन् ।

चितवन उद्योग वाणिज्य संघको सचिवालयमा आयोजित छलफलमा सहभागी जनप्रतिनिधि, प्राविधिक विज्ञ, व्यवसायी तथा स्थानीय बासिन्दाले नदीको बहाव र दुवै किनारको भौगोलिक अवस्थालाई अध्ययन गरी संयुक्त गुरुयोजना बनाउनुपर्ने बताएका हुन् ।

छलफलमा एकातर्फ मात्र तटबन्ध निर्माण गर्दा अर्कोतर्फ नदीको पानीको चाप बढ्न सक्ने जोखिम औँल्याउँदै भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाका प्रतिनिधिले दुवै क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर योजना अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नारायणी नदीले भरतपुर र गैँडाकोटलाई जोड्ने भएकाले तटबन्ध निर्माण गर्दा दुवै किनारको सन्तुलन कायम गर्नुपर्ने बताए । भरतपुर महानगरपालिकाका प्रमुख चित्रसेन अधिकारीले नदी कटानको जोखिम न्यूनीकरणका लागि संघीय आयोजना, गैँडाकोट नगरपालिका र निजी क्षेत्रसँग समन्वय गर्न महानगर तयार रहेको बताए ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरका प्रमुख डा. नारायणप्रसाद सुवेदीले नदीको बहाव र भौगोलिक संवेदनशीलताको अध्ययनका आधारमा तटबन्धको प्राविधिक डिजाइन तयार गरिने बताए । स्थानीय तह तथा सरोकारवालाबाट प्राप्त सुझावलाई डिजाइनमा समेटिने उनको भनाइ थियो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले नारायणगढ बजारको व्यापारिक गतिविधिमा नदी कटानको जोखिमले असर पार्न सक्ने भन्दै तटबन्ध निर्माणका लागि बजेट सुनिश्चित गर्नुपर्ने बताए । त्यसका लागि संघले सम्बन्धित निकायसँग पहल गर्ने उनले उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठले तटबन्ध निर्माणसँगै नदी किनारको सौन्दर्यीकरण र देवघाट क्षेत्रको पर्यटन प्रवर्द्धनलाई पनि योजनामा समेट्नुपर्ने बताए ।

छलफलमा स्थानीय बासिन्दा तथा व्यवसायीले वर्षायामअघि नै जोखिमयुक्त क्षेत्रमा निर्माण कार्य सुरु गर्न, दुवै किनारमा वैज्ञानिक र सन्तुलित संरचना बनाउन तथा वातावरणीय पक्षलाई ध्यान दिन सुझाव दिएका थिए । उनीहरूले योजना कार्यान्वयनका क्रममा स्थानीय तह, प्राविधिक टोली, उद्योग वाणिज्य संघ र प्रभावित समुदायबीच नियमित समन्वय तथा अनुगमनको व्यवस्था गर्न पनि माग गरेका थिए ।

कार्यक्रममा प्राविधिक टोलीले नदी क्षेत्रको विस्तृत सर्वेक्षण गरी प्रतिवेदन तयार गर्ने र त्यसलाई सबै सरोकारवालामाझ प्रस्तुत गरेर प्राप्त सुझावका आधारमा योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ । चितवन उद्योग वाणिज्य संघको पहलमा सर्वेक्षण टोली चितवन आएको हो ।

छलफलमा भरतपुर महानगरपालिका वडा नं. १ का अध्यक्ष केशव महर्जन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. नरेन्द्रमान शाक्य, इन्फर्मेटिक इन्जिनियरिङ कलेजका इन्जिनियर अनुप खनाललगायत प्राविधिक, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता थियो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरका प्रमुख डा. नारायणप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट