काठमाडौँ, १० मङ्सिर
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्नुहुँदै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार र नियामक निकायलाई आफ्नो अधिकार प्रयोग गरी जवाफदेही बनाउन निर्देशन दिनुभएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले आज यहाँ आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उहाँले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले यसको गुणस्तर सुनिश्चित गर्नु सबै पक्षको साझा दायित्व भएको बताउनुभयो ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले लामो समयदेखि दूरसञ्चार क्षेत्रमा सेवा विस्तार र पहुँचलाई प्राथमिकता दिइए पनि सेवाको गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख गर्नुभयो । राजधानी काठमाडौँमै फोन सम्पर्क स्थापित गर्न कठिन हुने र उपभोक्ताले तोकिएअनुसारको इन्टरनेट गति प्राप्त गर्न नसक्ने अवस्था रहनु गम्भीर विषय भएको उहाँको भनाइ थियो ।
सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर नागरिकलाई डिजिटल प्रविधिसँग जोड्ने अभियान अघि बढाइरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि भरपर्दो र गुणस्तरीय दूरसञ्चार सेवा अनिवार्य रहेको बताउनुभयो ।
“जब इन्टरनेट सेवा राम्रो हुँदैन, नागरिक फोन र इन्टरनेटको गुणस्तरीय पहुँचबाट वञ्चित हुन्छन्, त्यसपछि डिजिटल कनेक्टिभिटीको सार्थकता नै रहँदैन। गुणस्तरीय सेवा विलासिता होइन, न्यूनतम आवश्यकता हो,” उहाँले भन्नुभयो ।
उहाँले सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयलाई मात्र केन्द्रमा राख्न नहुने बताउँदै अनुमतिपत्र लिँदा गरेका प्रतिबद्धता र सम्झौताअनुसार उपभोक्तालाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । गुणस्तरीय सेवा प्रदान गरेर मात्र व्यवसायबाट नाफा आर्जन गर्ने व्यावसायिक संस्कार विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
सेवा प्रदायक र नियामक निकाय दुवैमा जवाफदेहिताको संस्कृति स्थापित हुनुपर्ने उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले गल्ती गर्नेले त्यसको जिम्मेवारी र परिणाम बेहोर्नुपर्ने व्यवस्था प्रभावकारी हुनुपर्ने बताउनुभयो ।
“जबसम्म जवाफदेही नहुँदा त्यसको मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुँदैन, तबसम्म वास्तविक जवाफदेहिता स्थापित हुँदैन। अनुरोधले मात्र काम गर्दैन, केही पत्राचार र निर्देशनले पनि पुग्दैन,” उहाँले भन्नुभयो ।
नियामक निकायलाई आफ्नो कानुनी अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गर्दै उहाँले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि आवश्यक कारबाही गर्नुपर्ने बताउनुभयो । नियामक निकायले कारबाही गर्ने अधिकार मात्र नभई कानुन कार्यान्वयन गराउने दायित्वसमेत वहन गर्नुपर्ने उहाँको भनाइ थियो ।
“नियामकसँग गलत गर्नेहरूलाई कारबाही गर्ने अधिकार मात्रै होइन, दायित्व पनि नियामकको हो । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ र सेवा प्रदायकहरूले कानुनविपरीत काम गर्दा नियामकको कारबाहीको डर महसुस गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
सेवा प्रदायकले अनुमतिपत्र प्राप्त गर्दा स्वीकार गरेका सर्त र प्रतिबद्धता अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गर्दै उहाँले कानुन र नियामकको निर्देशनलाई बेवास्ता गरेर व्यावसायिक गतिविधि सञ्चालन गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
दूरसञ्चार क्षेत्रमा वर्षौँदेखि सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्रको अवधि समाप्त हुँदासमेत सेवा तथा व्यवसाय विस्तार गर्ने र कानुनी दायित्व पूरा नगर्ने प्रवृत्तिप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
“वर्षौँदेखि सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ किन बुझाइएन? समस्या थिए भने समयमै किन सम्बोधन गरिएन? समाधानका उपाय किन खोजिएनन् ? अनुमतिपत्रको अवधि समाप्त हुने, ग्राहक थपिँदै जाने, आम्दानी भइरहने तर राज्यलाई तिर्नुपर्ने दायित्व पूरा नगर्ने अवस्था कसरी स्वीकार्य हुन सक्छ?” उहाँले प्रश्न गर्नुभयो ।
कुनै कानुनी वा नीतिगत अस्पष्टता भए समयमै समाधान खोज्नुपर्ने उल्लेख गर्दै उहाँले दायित्व पूरा नगरी पछि विभिन्न बहाना बनाउने प्रवृत्ति उचित नभएको बताउनुभयो। सरकार कुनै एउटा कम्पनीको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै उहाँले समग्र दूरसञ्चार क्षेत्रको सुधार, स्वच्छ व्यावसायिक वातावरण र उपभोक्ताको हित सरकारको प्राथमिकता भएको बताउनुभयो ।
सेवा प्रदायकले पहिले आफ्ना कानुनी तथा व्यावसायिक दायित्व पूरा गर्नुपर्ने र त्यसपछि नियामक निकायले कानुन उल्लङ्घन तथा कमजोरीका घटनामा आवश्यक कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।
“पहिला आफूले गर्नुपर्ने काम शतप्रतिशत पूरा गर्नुस्, त्यसपछि प्रश्न उठाउनुस् । आफैँ प्रश्नको घेरामा रहेको अवस्थामा अरूलाई प्रश्न गर्ने नैतिक आधार हुँदैन,” सञ्चारमन्त्री डा. तिमिल्सिनाले भन्नुभयो ।
उहाँले सेवा प्रदायक र नियामक निकायबीच नियमित संवाद, सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै प्राधिकरणले आफ्नो कानुनी अधिकारअनुसार स्वतन्त्र रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले नियामक निकायलाई कसलाई के कारबाही गर्ने भनेर निर्देशन दिनेभन्दा पनि प्राधिकरणले आफ्नो अधिकार र जिम्मेवारीअनुसार निर्णय तथा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।
दूरसञ्चार क्षेत्रप्रति आम नागरिकमा भ्रष्टाचार र अनियमिततासँग जोडिएको नकारात्मक धारणा विकास हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै उहाँले क्षेत्रको छवि सुधार्न सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने बताउनुभयो । इन्टरनेटको मूल्य वृद्धि भएको भन्दै गलत सूचना फैलाउने, बजारमा अफवाह सिर्जना गर्ने र उपभोक्तालाई भ्रममा पार्ने गतिविधि पनि स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो ।
“अब मिलाएर कमाउने दिन गए । काम गरेर, जवाफदेहिता देखाएर र गुणस्तरीय सेवा दिएर मात्रै पैसा कमाउन सकिन्छ भन्ने स्थापित गर्नु छ । कानुन, नियामक, सरकार र उपभोक्तालाई चुनौती दिएर व्यवसाय चलाउने सोच राख्नेहरूका लागि आगामी दिन सहज हुने छैनन्,” उहाँले भन्नुभयो ।
सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले दूरसञ्चार क्षेत्रको सुधारका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार र सकारात्मक सहयोग गर्न तयार रहेको बताउनुभयो । तर सरकारी सहयोगको अर्थ कानुनविपरीतका गतिविधिलाई संरक्षण गर्नु नभएको उहाँले स्पष्ट पार्नुभयो ।
“हामी सबै मिलेर यो क्षेत्रलाई सही दिशामा लैजानुपर्नेछ । त्यसका लागि सरकारले आवश्यक कानुनी तथा नीतिगत सुधार गरिरहेको छ । कुनै कम्पनीको स्वार्थका लागि होइन, समग्र क्षेत्रको सुधार र देशको हितका लागि काम भइरहेको छ। त्यसैले सबैले हातेमालो गरेर नागरिकको हित र देशको हितमा काम गर्दै व्यवसाय गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नु सेवा प्रदायक, नियामक निकाय र सरकारको साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्न तीनै पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नियामक निकायले सरकारसँग समन्वय र सेवा प्रदायकसँग सहकार्य गर्दै निर्णयको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
“नियामक निकायले सरकारसँग समन्वय गर्नुपर्छ, सेवा प्रदायकसँग पनि सहकार्य गर्नुपर्छ । समस्या समाधानका लागि निर्णय गर्ने तर त्यसको कार्यान्वयन नहुने अवस्था हुनुहुँदैन। निर्णय गरेर मात्रै हुँदैन, त्यसको प्रत्यक्ष लाभ नागरिकले पाउनुपर्छ,” अध्यक्ष घिमिरेले भन्नुभयो ।
निर्देशन र निर्णयपछि पनि दूरसञ्चार सेवाको अवस्थामा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै उहाँले अब परिणाम देखिने गरी स्पष्ट कार्ययोजना आवश्यक रहेको बताउनुभयो । सेवामा रहेका समस्या पहिचान गरी समाधानका उपाय, जिम्मेवारी र सुधारको समयसीमासहितको प्रतिवेदन तयार गर्नुपर्ने उहाँले बताउनुभयो ।
“निर्देशन दिएर मात्रै पुग्दैन। प्राधिकरणले निर्देशन दिने, सेवा प्रदायकले कार्यान्वयन गर्ने भनिए पनि सेवा जस्ताको तस्तै रहने हो भने त्यसको अर्थ हुँदैन। अब के समस्या छ, कसरी समाधान गर्ने र कहिलेसम्म सुधार हुन्छ भन्ने स्पष्ट कार्ययोजना र प्रतिवेदन चाहिन्छ,” उहाँले भन्नुभयो ।
अध्यक्ष घिमिरेले दूरसञ्चार सेवालाई चुस्त, दुरुस्त, गुणस्तरीय र भरपर्दो बनाउन प्राधिकरण आवश्यक समन्वय, सहयोग तथा सहजीकरणका लागि तयार रहेको बताउँदै सेवा प्रदायकलाई सेवा विस्तार र गुणस्तर सुधारमा देखिएका समस्या स्पष्ट रूपमा प्रस्तुत गर्न आग्रह गर्नुभयो ।





