हेटौंडा । अन्तर्राष्ट्रिय राजनीति, कूटनीति र नेतृत्व विकाससम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले हेटौंडामा नमुना संयुक्त राष्ट्रसंघ महासभा (मोडेल युनाइटेड नेसन्स–मुन) कार्यक्रम सुरु भएको छ । कार्यक्रममा मकवानपुरका विभिन्न विद्यालयका ८६ भन्दा बढी विद्यार्थी सहभागी छन् ।
सामुदायिक विकास तथा सचेतना नेपालको आयोजना, हेटौंडा युथ इन्भोयको सहआयोजना तथा हेटौंडा युथ इन्भोय मोडेल युनाइटेड नेसन्सको व्यवस्थापनमा हेटौंडा–४ स्थित सामना होटलमा कार्यक्रम सञ्चालन भइरहेको छ । आइतबारसम्म चल्ने कार्यक्रममा विद्यार्थीले विभिन्न देशका प्रतिनिधिका रूपमा अन्तर्राष्ट्रिय मुद्दामा छलफल, बहस र विचार प्रस्तुत गर्नेछन् ।
कार्यक्रमको पहिलो दिन कमिटी बैठक सञ्चालन गरिएको आयोजकले जनाएको छ । आगामी दिनमा विभिन्न समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल तथा प्रस्तुति गरिनेछ ।
कार्यक्रम उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले यस्ता अभ्यासले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरको ज्ञान र अनुभव हासिल गर्न सहयोग पुग्ने बताए । नेतृत्व क्षमता, तार्किक सोच, सार्वजनिक अभिव्यक्ति र अन्तर्राष्ट्रिय विषयप्रतिको बुझाइ विकास गर्न नमुना महासभा उपयोगी हुने उनको भनाइ थियो ।
कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आएपछि आफूले चासो देखाएको उल्लेख गर्दै बानियाँले युवाको क्षमता विकासमा स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । यस्ता गतिविधिले विद्यार्थीलाई भविष्यमा जिम्मेवार नेतृत्वका रूपमा अघि बढ्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रमका अन्य वक्ताले पनि अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विषयलाई व्यावहारिक रूपमा बुझ्न यस्ता अभ्यास आवश्यक रहेको बताए । नेपाल–भारत सीमा विवाद, संयुक्त राष्ट्रसंघको स्थापना, अवधारणा र विकासक्रमलगायत विषयमा विद्यार्थीले तथ्यपरक जानकारी हासिल गर्नुपर्नेमा उनीहरूले जोड दिए ।
कूटनीतिको सुरुवात व्यक्तिगत व्यवहार र संवाद क्षमताबाट हुने उल्लेख गर्दै वक्ताहरूले युवाको बौद्धिक, सिर्जनात्मक र नेतृत्व क्षमता विकासमा लगानी गर्नुपर्ने बताए । भौतिक पूर्वाधार निर्माणसँगै युवालाई बौद्धिक तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउनु पनि विकासको महत्वपूर्ण पक्ष रहेको उनीहरूको भनाइ थियो ।
उपप्रमुख बानियाँको प्रमुख आतिथ्य तथा आयोजक कमिटीकी महासचिव इप्सा लामिछानेको सभाध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको हो । कार्यक्रममा टोल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी र वरिष्ठ पत्रकार प्रताप विष्टको आतिथ्यता रहेको थियो ।
कार्यक्रमबाट विद्यार्थीको सार्वजनिक वक्तृत्व, वार्ता, सहकार्य, समस्या समाधान र निर्णय क्षमता अभिवृद्धि हुने आयोजकले अपेक्षा गरेको छ । विभिन्न देशको दृष्टिकोणबाट अन्तर्राष्ट्रिय मुद्दा बुझ्ने र छलफलमार्फत साझा निष्कर्षमा पुग्ने अभ्यास कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।





