माडी, ११ मङ्सिर।
भूपराज पाठक स्मृति प्रतिष्ठानले माडीका पाँच विद्यालयका २० जना सहयोगापेक्षी विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
प्रतिष्ठानको आयोजना तथा दिवाकर स्मृति माध्यमिक विद्यालयको समन्वयमा आयोजित कार्यक्रममा भरतपुर – ५ चितवन निवासी सामाजिक व्यक्तित्व चन्द्रमा पोख्रेल र हरिप्रसाद पोख्रेलको विशेष सहयोगमा विद्यार्थीलाई झोला, कापी, कलम, ज्यामिति बक्स, क्यालकुलेटरलगायत सामग्री वितरण गरिएको हो ।
माडीस्थित श्री सोमेश्वर माध्यमिक विद्यालय, श्री खैरहनी माध्यमिक विद्यालय, श्री माडी माध्यमिक विद्यालय, श्री दीवाकर स्मृति माध्यमिक विद्यालय र बघौडा आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई उक्त सामग्री दिइएको हो ।
त्यसैगरी, १०० जना विद्यार्थीलाई पुग्ने गरी मुना बालपत्रिका वितरण गरिएको तथा विद्यालयका पुस्तकालयमा राख्न ध्रुव श्रेष्ठद्वारा लिखित नेपाली र अङ्ग्रेजी भाषाका ४० थान चित्रकथा पुस्तक ‘अचम्मको सपना’ उपलब्ध गराइएको थियो । उक्त पुस्तक सम्पूर्ण किताबका सञ्चालक एवम् पठन संस्कृति अभियन्ता लेखराम सापकोटामार्फत हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार ऋषिराम काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने दिवाकर स्मृति माध्यमिक विद्यालयकी शिक्षिका सीता बेलबासेले सहजीकरण गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष विपिन पाठकले विद्यार्थीको पढाइ र सिकाइ अभिवृद्धिमा सहयोग पुग्ने विभिन्न कार्यक्रमलाई निरन्तरता दिइँदै आएको जानकारी दिनुभयो । कार्यक्रमका आयोजकले सहयोग गर्ने तथा कार्यक्रममा सहभागी हुने सबैप्रति आभार व्यक्त गरेका छन् ।





