अस्ट्रेलिया, २२ कात्तिक ।
साहित्य अनुरागी एडिलेडको आयोजनामा दक्षिण अस्ट्रेलियाको राजधानी सहर एडिलेडमा ११७औँ लक्ष्मी जयन्ती मनाइएको छ ।
साहित्य अनुरागी एडिलेडको २१औँ शृङ्खलाअन्तर्गत मिचेल पार्क कम्युनिटी हलमा आयोजित कार्यक्रममा साहित्यिक र सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
कार्यक्रममा केआर दाहाल, प्रकाश पौडेल र पुष्कर कोइरालाले गजल वाचन गर्नुभएको थियो भने क्षितिज सापकोटाले गीत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, सुरेन रेग्मीले कविता तथा गजलकार आरजु गिरीले ‘को हौ तिमी’ र ‘सम्झेर प्यार तिम्रो’ शीर्षकका दुई गजल प्रस्तुत गर्नुभएको थियो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेर सुरु गरिएको कार्यक्रममा एडिलेड निवासी कवि कुमाराज सुवेदीले महाकवि देवकोटाको जीवनी र नेपाली साहित्यमा उहाँको योगदानबारे चर्चा गर्नुभएको थियो । उहाँले ‘काल, कर्म र कैवल्य’ तथा ‘मानमायाको चिया पसल’ शीर्षकका कविता पनि वाचन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली बुक्स अस्ट्रेलियाका अनिल उपाध्यायले सहभागी कविमध्ये गोलाप्रथामार्फत तीन जनालाई पुस्तक उपहार प्रदान गर्नुभएको थियो ।





