काठमाडौँ । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग अन्तर्गत शनिबारको (आज) एकमात्र खेलमा काठमान्डु गोर्खाजले शानदार जित दर्ज गरेको छ । उसले डिफेन्डिङ च्याम्पिय लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको हो । लुम्बिनीले १६१ रनको लक्ष्य पछ्याउने क्रममा १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो । जारी प्रतियोगितामा लुम्बिनीले पहिलो हार बेहोरेको हो ।
लुम्बिनीको हारमा प्रायः ब्याटरले बिर्सनलायक खले । कप्तान रोहित पौडेल शून्य रनमा आउट हुँदा निराेसन डिकवेलाले १४ रन मात्र जोडे । चौथो ओभरमै २१ रनमा ५ विकेट गुमाएको अवस्थाबाट टोलीलाई सम्मानजनक स्कोरतर्फ उकास्न सन्दिप जोराले ४४ रनको योगदान गरे ।
काठमान्डुलाई रोमाञ्चक जित दिलाउन जहानदादले ४ विकेट लिए । उनले पावरप्लेभित्रै चार विकेट लिएका थिए । यस्तै करण केसीले २ तथा सदाब आलम, सन्ताेष यादव, सहन अराचिंगे र रसिद खानले १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिले फिल्डिङ गरेको लुम्बिनीले काठमाडौँका ब्याटरलाई १६० रनमा रोकेका थिए । निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा काठमान्डुले उक्त योगफल तयार पारेको थियो । उसका लागि ओपनरद्वय डेविड वार्नर र शाहिल पटेलले पहिलो विकेटका लागि १०६ रनको साझेदारी गर्दै जितको सूत्र लेखेका थिए । वार्नर प्लेयर अफ दि म्याच घोषित भए ।
पटेल ३६ बलमा ३८ रन बनाएर आउट भए भने वार्नरले ५० बलमा ६६ रन बनाए । यी दुई आउट भएपछि काठमान्डु बीचका केही ओबरमा दबाबमा आएको थियो । वार्नर आउट भएपछि क्रिजमा आएका ब्याटरमध्ये सहल अराचिंगे बाहेक ६ ब्याटरले जम्मा १९ रन जोडे । अराचिंगेले १५ बलमा ३४ रनको विष्फोटक पारी खेलेर काठमान्डुलाई १६० को स्कोरसम्म पुर्याए ।
जितपछि काठमान्डु गोर्खाजले २ अंक हात पारेको छ । उसले चार खेलबाट ६ अंक बटुलेको छ । समान ६ अंक भएतापनि नेट रन रेटका आधारमा सुदूरपश्चिमभन्दा अगाडि रहँदै काठमान्डु दोस्रो स्थानमा उक्लिएको छ । उसले अब तीन खेल खेल्न बाँकी छ । यता प्रतियोगिताकाे पहिलो हारका बावजुद ५ खेलबाट ७ अंक बटुल्दै अंकतालिकाको शीर्ष स्थानमा कायमै छ । लुम्बिनीले लिगमा दुई खेल खेल्न बाँकी छ ।





