भरतपुर, २१ कात्तिक ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले संस्थागत विद्यालयको शुल्क वृद्धि र सरोकारवालाको भूमिकासम्बन्धी शैक्षिक बहस कार्यक्रम सम्पन्न गरेको छ ।

प्याब्सन चितवनको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा संस्थागत विद्यालयका अभिभावक संघका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो । प्याब्सन चितवनका अध्यक्ष मदन पुरीको अध्यक्षता तथा संस्थागत विद्यालय अभिभावक संघ, भरतपुरका अध्यक्ष भोजराज न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयमा वृद्धि गरिएको शुल्क स्थगन गरेको सन्दर्भमा आयोजित कार्यक्रमको औचित्यमाथि अध्यक्ष पुरीले प्रकाश पार्नुभएको थियो । भरतपुर महानगर प्याब्सनका अध्यक्ष मीनराज बस्ताकोटीले निजी विद्यालयको वर्तमान अवस्था, चुनौती, अवसर, शैक्षिक क्षेत्रमा पुर्याएको योगदान तथा शुल्क वृद्धिका आधारहरू प्रस्तुत गर्नुभएको थियो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष सुदीप सुवेदीले संविधानप्रदत्त अधिकार तथा प्रचलित शिक्षा ऐन र नियमावलीअनुसार स्थापित निजी विद्यालयले शुल्क लिन पाउनुपर्ने महासंघको धारणा स्पष्ट पार्नुभयो । गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयले निजी विद्यालयका सकारात्मक अभ्यासको अनुकरण गरिरहेको उल्लेख गर्दै उहाँले प्रतिकूलतालाई अनुकूलतामा बदल्न छलफल, वार्ता र संवाद आवश्यक रहेको बताउनुभयो ।
उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले निजी विद्यालय राज्यका आर्थिक साझेदार भएकाले तिनलाई हतोत्साहित र निरुत्साहित गर्ने वातावरण सिर्जना गर्न नहुने बताउनुभयो । मूल्यवृद्धिका कारण हरेक वस्तु तथा सेवाको लागत बढिरहेको सन्दर्भमा निजी विद्यालयले पनि समयानुकूल शुल्क समायोजन गर्नुको विकल्प नरहेको उहाँको धारणा थियो ।
त्यसैगरी, उद्योग वाणिज्य संघ चितवनका शिक्षातर्फका विशिष्ट सदस्य अनोज जोशीले आगामी दिनका चुनौती सामना गर्न निजी विद्यालयबीच बलियो एकता र मतैक्यता आवश्यक रहेको बताउनुभयो ।
अभिभावकका तर्फबाट धारणा राख्दै होलीभिजन पब्लिक स्कुल र सनराइज इङ्लिस स्कुलका अभिभावक संघका अध्यक्षहरूले अभिभावकले तिरेको शुल्कबाटै विद्यालय सञ्चालन हुने भएकाले शुल्क वृद्धि आवश्यक रहेको बताउनुभयो । अभिभावकहरू गुणस्तरीय शिक्षाका लागि उचित शुल्क तिर्न तयार रहेको उल्लेख गर्दै उहाँहरूले विद्यालयमा विद्यार्थीमा देशप्रेमको भावना जगाउनुपर्ने र छात्रवृत्ति वितरण पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि भोजराज न्यौपानेले संस्थागत विद्यालय नतिजा, गुणस्तर र अनुशासनका दृष्टिले अब्बल रहेको बताउनुभयो । महिला शिक्षकलाई रोजगारी र सुरक्षाको अवसर प्रदान गरी महिला सशक्तीकरणमा समेत योगदान पुर्याएको उल्लेख गर्दै उहाँले अभिभावककै सहमतिमा समयानुकूल गरिएको शुल्क वृद्धिको निर्णय कार्यान्वयन हुनुपर्ने धारणा राख्नुभयो ।
शिक्षा नियमावलीको अनुसूची २२ अनुसार विद्यालयले शुल्क लिन पाउनुपर्ने र शिक्षक तथा कर्मचारीलाई सरकारले वृद्धि गरेको तलबमान उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयका अभिभावक संघका अध्यक्षहरू, प्याब्सन बागमती प्रदेशका सल्लाहकार, प्याब्सन चितवनका सल्लाहकार, हिसान चितवनका अध्यक्ष तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति थियो ।
प्याब्सन चितवनका सचिव दयानिधि अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा समापन मन्तव्य राख्दै अध्यक्ष पुरीले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले शुल्क वृद्धि स्थगन गर्ने महानगरपालिकाको निर्णय प्याब्सन चितवनलाई मान्य नभएको बताउँदै अभिभावकको सहमतिमा शुल्क वृद्धि स्वघोषणा गर्ने जानकारी दिनुभयो । साथै, वृद्धि भएको तलब तथा भत्ता शिक्षक–कर्मचारीलाई उपलब्ध गराउने उहाँले बताउनुभयो ।




