स्याङ्जा, १८ असोज ।
पहिलो ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार–२०८३’ अग्रज साहित्यकार देवीप्रसाद वनवासीलाई प्रदान गरिएको छ ।
करादीखोलास्थित कमला–ज्ञानप्रसाद उपाध्याय परिवारले आफ्ना स्वर्गीय बुबा–आमा पोतप्रसाद उपाध्याय, पवित्रादेवी उपाध्याय तथा छोरा चेतनारायण उपाध्याय ‘प्रवीण’को स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार वनवासीलाई प्रदान गरिएको हो ।
स्याङ्जाको वालिङ–त्रियासी, शङ्खरेडाँडामा वि.सं. १९९७ कार्तिक २७ गते जन्मिएका वनवासीले वि.सं. २०२० जेठमा ‘माछापुच्छ्रेको काख’ नामक आफ्नो पहिलो साहित्यिक कृति प्रकाशित गरेका थिए । झ्याउरे लयमा लेखिएका कविताहरू समेटिएको उक्त कृतिबाट साहित्यिक यात्रा सुरु गरेका वनवासी लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा सक्रिय छन् ।
करादीखोलास्थित उपाध्याय निवासमा आइतबार दिउँसो आयोजित अनौपचारिक समारोहमा वनवासीलाई पुरस्कार समर्पण गरिएको हो । पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ ।
नेपाली भाषा, वाङ्मय तथा लोकसंस्कृतिको क्षेत्रमा क्रियाशील रही महत्वपूर्ण योगदान पुर्याएका राष्ट्रियस्तरका अग्रज तथा युवा स्रष्टालाई आलोपालो गरी हरेक वर्ष पुरस्कृत तथा सम्मानित गर्ने उद्देश्यले ‘पोतपवित्रा–प्रवीण स्मृति पुरस्कार कोष’ स्थापना गरिएको हो । कमला–ज्ञानप्रसाद उपाध्याय परिवारको तर्फबाट २०८१ सालमा कोष स्थापना गरिएको थियो ।
स्वर्गीय पोतप्रसाद उपाध्याय, पवित्रादेवी उपाध्याय र प्रवीण ज्ञवालीको स्मृतिमा स्थापित पुरस्कारको राशि प्रत्येक वर्ष क्रमशः वृद्धि गरिने व्यवस्था गरिएको छ । पहिलो वर्ष ११ हजार १११ रुपैयाँ, दोस्रो वर्ष १२ हजार २१२ रुपैयाँ र तेस्रो वर्ष १३ हजार ३१३ रुपैयाँ पुरस्कार राशि रहनेछ । त्यसपछि पनि यही क्रमअनुसार पुरस्कार राशि बढाउँदै लगिने जानकारी पुरस्कार कोषका संस्थापक रामचन्द्र उपाध्यायले दिएका छन् ।





