वालिङ, १८ असोज ।
निबन्धकार अनन्त अर्यालको पाँचौँ साहित्यिक कृति ‘अन्तरिक्षको आँगन’को गृह विमोचन, विमर्श तथा ‘अन्तरिक्षको आँगन सिर्जना उत्सव–२०८३’ सम्पन्न भएको छ ।
गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जाको आयोजना तथा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६, स्याङ्जाको सहकार्यमा वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा अग्रज स्रष्टा विश्वप्रेम अधिकारीको प्रमुख आतिथ्य तथा कृतिकार अनन्त अर्यालको अध्यक्षता रहेको थियो। कार्यक्रममा ‘अन्तरिक्षको आँगन’को लोकार्पणपछि कृतिमाथि विमर्श गरिएको थियो । दीपक लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यामबहादुर कुँवर र चक्रबहादुर पराजुलीले कृति, कृतिकारको व्यक्तित्व तथा निर्बन्ध–आलेख लेखनका विविध पक्षमाथि समीक्षात्मक मन्तव्य राखेका थिए । कृतिकार अर्यालले आफ्नो सिर्जनायात्रा र कृतिबारे मन्तव्य दिएका थिए ।
‘अन्तरिक्षको आँगन’मा २९ वटा समसामयिक निर्बन्ध–आलेख समावेश छन् । सुन्दर स्वदेश प्रकाशनद्वारा प्रकाशित कृतिको सम्पादन युवा स्रष्टा मिलन समीरले गरेका हुन् । यो अर्यालको पाँचौँ साहित्यिक कृति तथा पहिलो निर्बन्ध–आलेख सङ्ग्रह हो ।
वालिङ नगरपालिका–१४, गाएडाँडा, स्याङ्जामा २०२३ पुस १९ गते जन्मिएका अर्याल हाल जनसेवा माध्यमिक विद्यालय, वालिङ–१४, डुम्रेभञ्ज्याङका प्रधानाध्यापकका रूपमा कार्यरत छन् । नेपाली साहित्य सिर्जनामा सक्रिय अर्याल गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङका अध्यक्षसमेत हुन् । उनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट नेपाली विषयमा स्नातकोत्तर (एमए तथा एमएड) तहसम्मको अध्ययन पूरा गरेका छन् ।
उनलाई तीलाकुमारी स्मृति साहित्य पुरस्कार–२०६० तथा भेषजविन्दु साहित्यिक पुरस्कार–२०८२ लगायतका पुरस्कार प्राप्त भएका छन् ।
कार्यक्रममा युवा स्रष्टा शम्भु अर्यालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६ का संस्थापक संयोजक तथा साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा ‘अन्तरिक्षको आँगन सिर्जना उत्सव–२०८३’ आयोजना गरिएको थियो । उत्सवमा चिन्तु गिरी, लेखनाथ काफ्ले, नीलकण्ठ लम्साल, सीताराम अधिकारी, अग्निकुमार रेग्मी ‘पल्लव’, प्रेमबन्धु सुवेदी, लीलाम्बर ढुङ्गाना, शोभाकान्त रेग्मी, गुरुप्रसाद ढकाल, पारिश्वर न्यौपाने, खगेन्द्रजंग थापा, इन्द्रप्रसाद पाठक, प्रेमप्रसाद सुवेदी, विनुप्रसाद पराजुली, वसन्त खनाल, कमल बगाले, चण्डिकाप्रसाद भट्टराई र डिल्लीराम भण्डारीलगायत स्याङ्जाली स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
उदय श्रेष्ठ र लक्ष्मीपति पौडेलले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।





