२८ पुस । नेकपा माओवादी केन्द्र शुक्रबारबाट औपचारिक रुपमा सरकारबाट बाहिरिएको छ। शुक्रबार माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा गरेपछि माओवादी केन्द्र औपचारिक रुपमा सरकार बाहिरिएको हो ।शुक्रबारको मन्त्रिपरिषदको बैठकपछि विनाविभागीय मन्त्री रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको पत्रसहित मन्त्रीहरुको समुहिक राजीनामा बुझाएका हुन्।
यसअघि पनि पटक पटक सरकार छोड्ने घोषणा गरे पनि शुक्रबार मात्र माओवादीले सरकार छाडेको हो। एमालेसँगगठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा प्रवेश गराउँदै माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोसेका थिए।

माओवादी केन्द्रले चुनाव सुनिश्चित भएपछि मात्र सरकार छाड्ने बताउँदै आए पनि चुनाव सम्पन्न भएको झण्डै तीन महिनापछि अर्थात विनाविभागीय बनेको ८६ दिनपछि मात्रै सरकार छाडेको हो। बिहीबार सार्वजनिक विदा भएका कारण शुक्रबार मात्रै माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।
सरकारमा माओवादीका ९ मन्त्री र ७ राज्यमन्त्री सहभागी थिए। माओवादीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह सहभागी थिए। त्यस्तै राज्यमन्त्रीहरूमा मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा सहभागी थिए।





