भरतपुर, २ असोज ।
भरतपुर महानगरपालिका–११ स्थित सिद्धि विनायक आमा समूहले विपद्को विषम परिस्थितिमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा ५५ हजार १८५ रुपैयाँ सहयोग गरेको छ ।
१३० जना सदस्य आबद्ध रहेको समूहले विपद्को समयमा राज्यको राहत अभियानमा सहयोग पुर्याउने उद्देश्यले सदस्यहरूबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरेको जनाएको छ ।
समूहकी अध्यक्ष तीर्था अधिकारी र सचिव संगीता अधिकारीको नेतृत्व तथा पहलमा उक्त रकम सङ्कलन गरिएको हो । मानवीय सेवा तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएको समूहले यसअघि पनि स्थानीयस्तरमा विभिन्न सामाजिक तथा रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।
अध्यक्ष अधिकारीले विपद्को कठिन समयमा सानो भए पनि गरिएको सहयोगले प्रभावित नागरिकसम्म राहत पुर्याउन योगदान पुग्ने बताउनुभयो ।
सचिव अधिकारीले विपद्का बेला एक–अर्कालाई सहयोग गर्नु आमा समूहको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो ।





