चितवन, २२ भदौ ।
राष्ट्रिय शोक दिवसको अवसर पारेर सुनचाँदी व्यवसायी तथा समाजसेवी रुबिन रामुदामुले भोटेकोशी बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि रु. ३ लाख ७५ हजार ५५५ सहयोग गर्नुभएको छ ।
नारायणगढस्थित जय सन्तोषी मा सुनचाँदी शोरुमका सञ्चालक रामुदामुले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो । विपद्का कारण ठूलो जनधनको क्षति भएका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले राष्ट्रिय शोकको दिन सहयोग गरिएको उहाँले बताउनुभयो ।
रामुदामु सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, चितवन चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा युरो मोटर्सका अध्यक्ष हुनुहुन्छ । उहाँ होटल, अस्पताल तथा हिरा–जवाहरात व्यवसायमा समेत संलग्न युवा उद्यमीका रूपमा परिचित हुनुहुन्छ ।
उहाँ जय सन्तोषी मा सुनचाँदी पसलका संस्थापक तथा वरिष्ठ व्यवसायी ईश्वरीलाल रामुदामुका कान्छा सुपुत्र तथा नेपाल दलित संघका अध्यक्ष विपिन रामुदामुका सहोदर भाइ हुनुहुन्छ ।
लण्डनमा अध्ययन गर्नुभएका रामुदामुले विगत केही दशकदेखि नेपाली सुनचाँदी व्यवसायको विकाससँगै विभिन्न क्षेत्रमा लगानी गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएको छ ।
राष्ट्रिय शोकको संवेदनशील घडीमा गरिएको उक्त सहयोगले विपद्मा परेका परिवारप्रति मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र ऐक्यबद्धताको सन्देश दिएको छ ।
रु. ३ लाख ७५ हजार ५५५ को यो सहयोग विपद्मा परेका परिवारका लागि आर्थिक सहयोग मात्र नभई दुःखमा साथ र पीडितप्रतिको सम्मानको प्रतीक बनेको छ ।





