भरतपुर, २२ भदौ ।
बाढीबाट प्रभावित नागरिक तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले मनोसामाजिक तथा प्राथमिक उपचार सेवा सञ्चालन गरेको छ ।
भरतपुरमा आयोजित सेवा शिविरमार्फत बाढी प्रभावित नागरिकलाई प्राथमिक उपचारसँगै मनोसामाजिक सहयोग तथा परामर्श प्रदान गरिएको हो । बाढीका कारण घर, सम्पत्ति तथा दैनिक जीवनमा परेको असरले प्रभावित नागरिकमा तनाव, चिन्ता तथा मानसिक दबाब बढ्न सक्ने भएकाले उनीहरूको मनोसामाजिक अवस्थालाई ध्यानमा राखेर सेवा प्रदान गरिएको रेडक्रसले जनाएको छ ।
शिविरमा रेडक्रसका पदाधिकारी, स्वयंसेवक तथा स्वास्थ्यकर्मीहरू परिचालन गरी प्रभावित नागरिकको अवस्था बुझ्ने, आवश्यक प्राथमिक उपचार गर्ने तथा मनोसामाजिक सहयोगका लागि परामर्श दिने काम गरिएको थियो ।
विपद्का समयमा उद्धार तथा राहतसँगै प्रभावित नागरिकको मानसिक र सामाजिक अवस्थालाई समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको रेडक्रस चितवनको पहलले देखाएको छ । यस्ता सेवाले बाढी प्रभावित नागरिकलाई कठिन परिस्थितिबाट सामान्य जीवनतर्फ फर्किन मनोबल प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी चितवन उपशाखाका सभापति हरिप्रसाद पौडेलले आगामी दिनमा पनि विपद् प्रभावित समुदायको आवश्यकता पहिचान गरी प्राथमिक उपचार, मनोसामाजिक सहयोग, राहत तथा अन्य मानवीय सेवाहरूलाई निरन्तरता दिने जानकारी दिनुभयो ।




