भरतपुर, २२ भदौ ।
गैंडाकोट–७ स्थित कँडेल परिवारले आमा गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम आयोजना गरेका छन् । सम्पूर्ण किताब नारायणगढसँगको समन्वयमा कँडेल परिवारले सोमबार भरतपुरमा कार्यक्रम आयोजना गरी दिवंगत आमालाई स्मरण गरे ।

कँडेल परिवारकी काइँली छोरी मोनिका कँडेल पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ नारायण सापकोटा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रेमसागर भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा चितवन र नवलपरासीका विभिन्न क्षेत्रका स्रष्टाहरूको उपस्थिति थियो ।
कार्यक्रममा स्रष्टाहरू प्रकाश चापागाईं, किसान प्रेमी, विकास बराल, मेनका चापागाईं काप्री, दामोदर पौडेल, उपेन्द्र त्रिपाठी, हिमालदेव पंगेनी, बुद्धिसागर पण्डित, सामना पहाड र प्रेम कँडेलले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण युवा स्रष्टा विपिन पाठकले गर्नुभएको थियो । सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कँडेल परिवारका सदस्यहरूको समेत उपस्थिति रहेको थियो । आमाको स्मृतिमा साहित्यिक कार्यक्रम आयोजना गरी परिवारले साहित्य र सिर्जनामार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ ।





