काठमाडौं, २१ भदौ ।
मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
गुठीको साधारण सभा बैठकले छ दशकसम्म गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै, ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकका लागि वीणा जोशीलाई मदन पुरस्कार २०८२ प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।
नेपाली गीत–संगीतको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका खरेललाई गीत लेखनमा गरेको योगदानको सम्मानस्वरूप जगदम्बा–श्री प्रदान गर्न लागिएको हो । जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकले नेवार समुदायमा प्रचलित परम्परागत मुकुन्डोनाचको संस्कृति, इतिहास र मौलिक पक्षलाई समेटेको छ ।
मदन पुरस्कार गुठीले हरेक वर्ष नेपाली साहित्य तथा सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ ।
त्यसैगरी, नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिँदै आएको छ ।
यस वर्ष दुवै पुरस्कारका लागि छनोट भएका व्यक्तित्व तथा कृतिको औपचारिक घोषणा गुठीको निर्णयअनुसार गरिएको हो ।





