भरतपुर,२७ पुष ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । महासंघले बुधबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ १७ गतेदेखि १९ गतेसम्म महाधिवेशन हुन लागेको जनाएको हो ।
९१ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि चितवनको रत्ननगरमा महाधिवेशन हुन लागेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी करिब २ हजार ३ सय जनाको सहभागिता रहनेछ । महासंघको राष्ट्रिय महाधिवेशनमा देश संघीय संरचनामा गइसकेकाले सोहीबमोजिम विधान संसोधन गरेर निर्वाचन गरिने सिटौलाले बताए । महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि एक मूल समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले यातायात क्षेत्रका समस्या समाधानका लागि नेपाल सरकारबाट नीतिगत निर्णय हुन नसक्दा व्यवसाय धरासायी बनेको बताए । “यातायातमा खर्बौं लगानी गरेर अग्रीम राजस्व बुझाउँदै, बेरोजगारलाई समेत न्यूनीकरणमा ठूलो मद्दत पुगेको छ महासंघका कार्यवाहक अध्यक्ष खनालले भने, “तर हाम्रा समस्यामा सरकारले चासो देखाएको छैन्, जसका कारण यो व्यवसाय धरासायी अवस्थामा छ ।” महाधिवेशनमा यातायात क्षेत्रको समस्याका विषयमा छलफल गरेर सरकारसँग माग गर्ने विषय पारित गरिनेसमेत उनले बताए । महासंघको महाधिवेशन यसअघि चितवनमा दुईपटक भइसकेको छ । तेस्रोपटक चितवनमै पुनः महाधिवेशन गर्न लागिएको महासंघले जनाएको छ ।





