काठमाडौं, १ भदौ ।
रानाभाट/भाट समाज नेपालले रानाभाट/भाट समुदायलाई खस आर्यमा सूचीकृत गर्ने विषयमा ‘छलफल तथा सुझाव संकलन कार्यक्रम–२०८३’ सम्पन्न गरेको छ ।
काठमाडौंको कलंकीस्थित परिवार पार्टी प्यालेसमा आयोजित कार्यक्रममा खस आर्यको सूचीकरणसम्बन्धी विषयमा समुदायका धारणा, सुझाव र आवश्यक पहलका विषयमा छलफल गरिएको थियो ।
खस आर्यमा सूचीकृत गर्न बनेको उच्चस्तरीय समन्वय समितिका संयोजक सुरेन्द्रबहादुर रानाभाटको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका महासचिव तथा समन्वय समितिका सदस्यसचिव राजु रानाभाटले स्वागत तथा सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा समाजका केन्द्रीय सल्लाहकार तिलकबहादुर रानाभाट, सेरसिं भाट, बाबुराम रानाभाट, आनन्दसिं भाटलगायतले खस आर्यमा सूचीकृत गर्ने विषयमा धारणा तथा सुझाव राखेका थिए । सहभागीहरूले खस आर्यमा सूचीकृत हुनुपर्ने आधार, आवश्यक प्रक्रिया र त्यसका लागि गर्नुपर्ने पहलका विषयमा सुझाव दिएका थिए ।
समन्वय समितिका संयोजक सुरेन्द्रबहादुर रानाभाटले सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै अभियानलाई निष्कर्षमा पुर्याउन सबैको साथ, सहयोग र एकता आवश्यक रहेको बताए ।
कार्यक्रमको समापनमा प्रतिभा रानाभाटले धन्यवाद ज्ञापन गरेकी थिइन् । छलफलपछि रानाभाट/भाट समुदायलाई खस आर्यमा सूचीकृत गर्न आवश्यक पहल अघि बढाउने र त्यसका लागि सबैको साथ तथा सहयोग रहने निष्कर्ष निकालिएको छ ।
कार्यक्रममा समाजको केन्द्रीय कार्यसमितिका अध्यक्ष हरि रानाभाट, सचिव गणेश रानाभाटलगायत भरत रानाभाट, शिव रानाभाट, लोकबहादुर रानाभाट तथा केन्द्रीय पदाधिकारी र सदस्यहरू, बागमती प्रदेश कार्यसमितिका अध्यक्ष सन्तोष रानाभाट, सचिव सञ्जीतकुमार पतनी भाटसहित पदाधिकारी तथा सदस्यहरू, विभिन्न जिल्ला अध्यक्ष तथा पदाधिकारी/सदस्यलगायतको उपस्थिति रहेको थियो ।




