भरतपुर, १ भदौ ।
विद्यार्थीमा पठन संस्कृतिको विकास गराउने उद्देश्यले भरतपुर निवासी तथा हाल जापानमा रहनुभएकी अमृता तिमिल्सिनाको जन्मदिनको अवसरमा उहाँका पिता सोमराज तिमिल्सिनाले विश्वप्रकाश माध्यमिक विद्यालय, मङ्गलपुरका १२० जना विद्यार्थीलाई ‘मुना’ पत्रिका उपलब्ध गराउनुभएको छ ।

कक्षा ८, ९, ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई ‘मुना’ वितरण गर्दै अभिभावक तिमिल्सिनाले अध्ययनले ज्ञानको उज्यालो बढाउने भएकाले नियमित पढ्ने बानी विकास गर्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थीलाई शिक्षकको सम्मान गर्न, शिक्षकका सुझाव पालना गर्न तथा अनुशासित जीवनशैली अपनाउन पनि आग्रह गर्नुभयो ।
त्यसैगरी, गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको तर्फबाट विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूलाई ‘नारी’ पत्रिका उपलब्ध गराइएको छ ।
शिक्षक विपिन पाठकले पाठ्यपुस्तकसँगै ‘मुना’ लगायतका पत्रपत्रिका पढ्दा विद्यार्थीले अतिरिक्त ज्ञान हासिल गर्नुका साथै सिर्जनशीलता विकास गर्न सक्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई नियमित पठन संस्कृतिको विकास गर्न प्रेरित गर्नुभयो ।
बालबालिकाका लागि लक्षित ‘मुना’ पत्रिकामा विद्यार्थीको पाठ्यक्रमसँग सम्बन्धित विभिन्न ज्ञानवर्धक तथा सिर्जनात्मक सामग्री प्रकाशित हुँदै आएका छन् । यो पत्रिका गोरखापत्र संस्थानले प्रकाशन गर्दै आएको छ ।
विद्यालयका प्रधानाध्यापक जयकृष्ण रिजालले पत्रिका उपलब्ध गराउने दाताहरूप्रति धन्यवाद व्यक्त गर्दै विद्यार्थीमा पढ्ने बानीको विकास गर्न यस्ता सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।





