चितवन, १ भदौ ।
माडी नगरपालिका–३ वसन्तपुरस्थित हस्पिटल रोडमा करिब १० लाख रुपैयाँको लगानीमा ‘न्यू लुक युनिसेक्स सलुन’ सञ्चालनमा आएको छ ।
सलुनको उद्घाटन माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतोले रिबन काटेर गर्नुभयो । सलुनका सञ्चालक ३१ वर्षीय भरतबहादुर स्वाँर हुन् । कैलाली घर भएका स्वाँर चार वर्षदेखि माडीमा फिजियोथेरापी सेवा सञ्चालन गर्दै आउनुभएको छ ।
व्यवसाय विस्तार गर्ने क्रममा सौन्दर्य क्षेत्रमा लगानी गर्नुभएका स्वाँरले सलुनमार्फत महिला, पुरुष तथा बालबालिकाका लागि हेयर कट, हेयर कलर, केराटिन, फेसियल, मेकअप, ब्राइडल मेकअप, हेड मसाज, थ्रेडिङ, स्मुथनिङलगायत आधुनिक सौन्दर्य सेवा उपलब्ध गराउनुभएको छ ।
सलुनले हाल पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । स्थानीयस्तरमै गुणस्तरीय सौन्दर्य सेवा उपलब्ध गराउँदै युवालाई स्वदेशमै व्यवसाय र रोजगारीसँग जोड्ने उद्देश्य रहेको सञ्चालक स्वाँरले बताउनुभयो ।
“युवाहरूले स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसायमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो, “स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै माडीमै गुणस्तरीय र आधुनिक सेवा दिने उद्देश्यले व्यवसाय सुरु गरेको हुँ ।”
सलुनमा प्रयोग हुने औजार तथा उपकरण निर्मलीकरण गरेर मात्र प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । सरसफाइ र स्वच्छतालाई प्राथमिकतामा राखिएको सञ्चालक स्वाँरले बताउनुभयो । नयाँ व्यवसाय सञ्चालनको अवसरमा एक महिनासम्म सेवाग्राहीका लागि विशेष अफरसमेत उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।
युवालाई सीप तथा रोजगारीसँग जोड्न स्थानीय सरकारले समय–समयमा सीपमूलक र व्यावसायिक तालिम सञ्चालन गर्नुपर्नेमा पनि स्वाँरले जोड दिनुभयो ।
उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, जनप्रतिनिधि, सुरक्षाकर्मी, शुभेच्छुक तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।





