मकवानपुर, १ भदौ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका छन् ।
सोमबार विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको भए पनि बानियाँले विश्वासको मतको प्रक्रियामा नगई मार्ग प्रशस्त गर्न राजीनामा दिने घोषणा गरेका हुन् ।
प्रदेशसभालाई सम्बोधन गर्दै उनले आफ्नो एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख काम तथा उपलब्धि प्रस्तुत गरे । सम्बोधनपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने जानकारी उनले दिए। सम्भवतः सोमबार नै उनले राजीनामा बुझाउनेछन् ।
नेकपा एमालेले गत ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । त्यसअनुसार सोमबारका लागि विश्वासको मतसम्बन्धी कार्यसूची तय गरिएको थियो ।
तर, प्रदेशसभामा सरकार टिकाउन आवश्यक ५३ सांसदको समर्थन जुट्ने अवस्था नदेखिएपछि उनले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेका हुन् । १०४ सदस्यीय प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
बानियाँलाई आफ्नै दल नेपाली कांग्रेस र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीको मात्र समर्थन रहने अवस्था थियो । नेकपा र एमाले विपक्षमा तथा राप्रपा र नेमकिपा तटस्थ बस्ने तयारीमा थिए। राप्रपाले आफ्ना सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विपसमेत जारी गरेको थियो ।
मुख्यमन्त्रीले राजीनामा घोषणा गरेलगत्तै सभामुख अप्सरा चापागाईंले विश्वासको मतसम्बन्धी कार्यसूची हटाएकी थिइन् । ४३ दिनपछि सोमबार बसेको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
यसैबीच एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै बागमती प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेको छ । तर, दुवै दलसँग आवश्यक बहुमत नपुग्ने भएकाले नयाँ सरकार गठनको प्रक्रिया भने चुनौतीपूर्ण बनेको छ ।





