काठमाडौं, २८ साउन ।
आगामी भदौ २६ गते (सेप्टेम्बर ११) देखि नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हासिल गरेको छ । नेपालमा रिलिज हुनुअघि नै सात देशमा आयोजना गरिएका अग्रिम शोहरू ‘सोल्ड आउट’ भएपछि चलचित्रप्रति प्रवासी नेपाली दर्शकको आकर्षण झन् बढेको देखिएको हो ।
निर्माण टिमका अनुसार चलचित्र अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, दुबई, कतार र बहराइनमा प्रदर्शन हुनेछ । ती देशहरूमा आयोजना गरिएका अग्रिम शोहरू प्रदर्शनअघि नै ‘सोल्ड आउट’ भइसकेका छन् ।
चलचित्रको अन्तर्राष्ट्रिय वितरण अस्ट्रेलियामा आशिस एन्ड नमस्ते इन्टरटेनमेन्ट, अमेरिका र क्यानडामा चलचित्र इन्टरटेनमेन्ट, बेलायतमा ९७७ इभेन्ट्स तथा दुबई, कतार र बहराइनमा साथीभाइ इन्टरटेनमेन्टले गर्नेछन् ।
सशान कँडेलको निर्देशन रहेको चलचित्रको कथा माधव शर्माले लेखेका हुन् भने सङ्गीत तथा प्रस्तुति अर्जुन पोखरेलको रहेको छ । चलचित्रमा पारस बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा छन् ।
चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता तथा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता रहेका छन् । द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रले नेपालमा प्रदर्शन हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय चर्चा बटुलेको निर्माण पक्षले जनाएको छ ।
निर्माण पक्षका अनुसार विभिन्न देशमा अग्रिम शोहरू ‘सोल्ड आउट’ हुनु प्रवासी नेपालीमाझ नेपाली चलचित्रप्रतिको बढ्दो विश्वास र आकर्षणको संकेत हो । साथै, आगामी दिनमा अन्य देशहरूमा पनि चलचित्रको प्रदर्शन विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ ।





