चितवनका जनयुद्धका शहीद समेटिएको ‘रगतले इतिहास लेख्नेहरू’ सार्वजनिक

भरतपुर, २९ असार ।
माओवादी सशस्त्र सङ्घर्ष (जनयुद्ध)का क्रममा चितवनबाट सहादत प्राप्त गरेका शहीदहरूको जीवन, योगदान र बलिदान समेटिएको पुस्तक ‘रगतले इतिहास लेख्नेहरू’ सार्वजनिक गरिएको छ ।

नारायण शर्मा ‘विपिन’द्वारा सम्पादित उक्त कृति भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । पुस्तकमा जनयुद्धका क्रममा सहादत प्राप्त ९६ जना शहीदका साथै बेपत्ता पारिएका १९ जनाको परिचय र योगदान समेटिएको सम्पादक विपिनले जानकारी दिए ।

कृतिमाथि टिप्पणी गर्दै लेखक तथा वाम अध्येता अनिल शर्मा ‘विरही’ले पुस्तकले जनयुद्धको इतिहासलाई पुनः स्मरण गराएको बताए । उनले शहीदको पहिचान र प्रमाणीकरणका लागि स्पष्ट मापदण्ड आवश्यक रहेको उल्लेख गर्दै कृतिले जनयुद्धसँग सम्बन्धित र त्यसको प्रभावमा ज्यान गुमाएका व्यक्तिहरूलाई समेटेर महत्वपूर्ण दस्तावेज तयार गरेको धारणा राखे ।

साहित्यकार हीरामणि दुःखीले कृतिलाई इतिहास, संस्मरण र साहित्यको संगमका रूपमा चित्रण गर्दै परिवर्तनका लागि भएको सङ्घर्षको दस्तावेज भएको बताए। नेकपा (माओवादी)की नेतृ कञ्चन खनालले शहीदहरूको योगदानको सम्मानका लागि माओवादी विचारधारासँग जोडिएका शक्तिहरूबीच एकता आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

अखिल नेपाल सांस्कृतिक महासंघ चितवनको आयोजनामा भएको कार्यक्रम महासंघका उपाध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कम्युनिष्ट विचारधाराका व्यक्तित्व, अध्येता तथा कृतिमा समेटिएका शहीदका परिवारजनको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट