हेटाैँडा, २९ असार ।
नवसर्जक साहित्य चाैतारी नेपालकाे ४४ ओैँ नवसर्जक मासिक शृङ्खलाका क्रममा नवाेदित कविहरू अनुज्ञा नेपाल (भक्तपुर) र समर्पण न्याैपाने (मकवानपुर) काे संयुक्त कवितावाचन एवम् विमर्श कार्यक्रम सम्पन्न भएकाे छ ।
नवसर्जक साहित्य चाैतारी नेपालकी अध्यक्ष कृतिका लाैडारीकाे अध्यक्षता एवम् अग्रज साहित्यकार डा. निमेष निखिलकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनुज्ञाले ‘म हुँ सिर्जना’, ‘म र मेराे माटाे’, ‘चरा’, ‘म बन्छु लिम्पियाधुरा’ र ‘देशै जलेकाे दिन’ शीर्षकका फरकफरक छन्दका पाँच वटा कविता वाचन गरिन् भने समर्पणले ‘नानीहरू ब्युँझने समय’, ‘प्रकृति : निर्विकल्प’, ‘यात्रीप्रति’, ‘चम्किला सपनाहरूकाे नाममा’, भत्कनलाई मान्छेहरू’ शीर्षकका पाँचवटा गद्य कविता वाचन गरे ।
वाचित कवितामध्ये अनुज्ञाका कविताकाे समीक्षा कवि पुरुषाेत्तम आचार्यले र समर्पणका कविताकाे समीक्षा कवि सुवास खनालले प्रस्तुत गर्दै दुवै कविमा नेपाली कविताकाे क्षेत्रमा राम्राे सम्भावना रहेकाे ओैँल्याए । कविद्वयका विषयमा चाैतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतमले प्रकाश पारे भने कवि तुलसी घिमिरे एवम् प्रमुख अतिथि निमेष निखिलले ओजपूर्ण कविता र कार्यक्रमका लागि कविद्वय र आयाेजक संस्थालाई बधाई ज्ञापन गरे ।
कार्यक्रममा अग्रज साहित्यकारहरू हयग्रीव आचार्य, जनार्दन खनाल, चाैतारीका सल्लाहकारहरू रमेशमाेहन अधिकारी, विष्णु न्याैपाने, राजकुमार लामिछाने, प्रभा पाैडेल, साहित्यसेवी मुक्तिगाेविन्द वैद्य, साहित्यकारहरू सानुबाबु खनाल, सञ्जित श्रेष्ठ, सागर तिमल्सिना, सुवास सजल, मसान उपासक, अजर फुयाँललगायत करिब ४ दर्जन साहित्यकारकाे उपस्थिती रहेकाे थियाे ।
२५ वर्षमुनिका नवसर्जककाे नेतृत्वमा सञ्चालित चाैतारीले साेही उमेरसमूहका सशक्त नवसर्जकद्वयलाई एउटै मञ्चमा उभ्याएर कार्यक्रम आयाेजना गरिएकाे संस्थाकी महासचिव स्वस्तिका दाहालले जानकारी दिइन् । अनुज्ञा नेपालकाे ‘हामी गर्न सक्छाैँ’ र ‘उज्यालोकाे खाेजीमा’ नामक दुई छन्द कविता सङ्ग्रह प्रकाशित छन् भने समर्पणकाे ‘अभियुक्त समय’ नामक गद्य कविता सङ्ग्रह प्रकाशित छ ।
महासचिव स्वस्तिका दाहालले सहजीकरण गरेकाे उक्त कार्यक्रममा सदस्य विविशा रुम्बाले स्वागत मन्तव्य राखेकी थिइन् भने सल्लाहकार डिबी बर्ताैलाले आभार मन्तव्य राखेका थिए ।
चाैतारीले दुई, दुई वर्षमा राष्ट्रिय नवसर्जक उत्सव, प्रत्येक वर्ष प्रादेशिक नवसर्जक उत्सव, हरेक महिना नवसर्जक मासिक शृङ्खला आयाेजना गर्नुका साथै नियमित रूपमा हरेक वर्ष नवसर्जक कार्यशाला सञ्चालन गर्दै आएकाे छ । २०७७ पुसमा स्थापना भएकाे चाैतारीले २०० भन्दा बढी भाैतिक तथा भर्चुअल कार्यक्रम सम्पन्न गरिसकेकाे र आगामी दिनमा अझ सशक्त रूपमा कार्यक्रम अघि बढाउने संस्थाकी अध्यक्ष कृतिका लाैडारीले जानकारी दिइन् ।





