कालिकामा ३६० विद्यार्थीलाई विपद् जोखिम न्यूनीकरण तालिम

चितवन, ५ असार ।
७५औँ नेपाल स्काउट दिवसको अवसरमा चितवनको कालिका नगरपालिकामा विद्यार्थीहरूका लागि एकदिने वृहत् विपद् तथा जोखिम न्यूनीकरण (डीआरआर) तालिम सम्पन्न गरिएको छ ।

गौरवशाली क्रूका रूपमा परिचित कालिका ओपन स्काउट क्रू (केओएससी) को आयोजनामा तथा नेपाली सेनाको श्री सिंहनाथ गण (कमाण्डो), कालिका–८ को प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा कालिका नगरभित्रका विभिन्न विद्यालय तथा रत्ननगरको एक विद्यालयका गरी करिब ३६० जना स्काउट विद्यार्थी सहभागी भएका थिए ।

विपद्का समयमा हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्दै विद्यार्थीहरूलाई पूर्वतयारी अवस्थामा राख्ने उद्देश्यले आयोजना गरिएको तालिममा नेपाली सेनाका दक्ष प्रशिक्षकहरूले सुरक्षा सचेतना तथा प्राथमिक उपचारसम्बन्धी प्रयोगात्मक अभ्यास गराएका थिए ।

तालिमका क्रममा सहभागीहरूले खोज तथा उद्धार, घाइतेलाई सुरक्षित रूपमा उद्धार गरी बोक्ने विधि, आपत्कालीन अवस्थामा स्ट्रेचर निर्माण तथा प्रयोग, डोरीका विभिन्न गाँठा बाँध्ने सीपलगायतका विषयमा व्यावहारिक ज्ञान हासिल गरेका थिए । साथै आगलागी, भूकम्पजस्ता विपद्का बेला अपनाउनुपर्ने सुरक्षाका उपाय तथा टोलीगत समन्वयमार्फत उद्धार कार्य सञ्चालन गर्ने तरिकाबारे समेत प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा कालिका नगर स्काउटका प्रमुख आयुक्त रचना लामा, श्री सिंहनाथ गणका गणपति (ब्यारेक प्रमुख), नेपाली सेनाका कमाण्डर तथा प्रशिक्षकहरूको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, केओएससीका कार्यकारी अध्यक्ष एवं नमुना स्काउट ट्रूपका संयोजक सेवक अधिकारी, कालिका नगर स्काउटका पदाधिकारी, रोभर/रेञ्जर तथा स्काउट विद्यार्थीहरू गरी करिब ४५० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको संयोजन केओएससीका समिति सदस्य आयन तामाङ र कार्यवाहक अध्यक्ष सागर परियारले गरेका थिए । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने नेपाली सेना, सहभागी विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा सम्पूर्ण सहयोगी निकायप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

‘सधैँ तयार (Be Prepared)’ भन्ने स्काउटको मूल आदर्शलाई आत्मसात् गर्दै सञ्चालन गरिएको यस प्रकारको सीपमूलक कार्यक्रमले विपद् व्यवस्थापनमा सक्षम, जिम्मेवार र सेवाभावी नागरिक निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट