बागमती प्रदेश खेलकुद : कराँतेमा पहिलो पटक च्याम्पियन बन्दै चितवनको कीर्तिमान

चितवन, ५ असार ।
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत कराँतेतर्फ चितवनले ऐतिहासिक सफलता हासिल गर्दै पहिलो पटक टिम च्याम्पियन बन्न सफल भएको छ ।

भरतपुरस्थित कभर्ड हलमा सम्पन्न प्रतियोगितामा चितवनले ३ स्वर्ण, ५ रजत र ३ कास्यसहित कुल ११ पदक जित्दै शीर्ष स्थान हासिल गरेको हो । बागमती प्रदेश खेलकुदको इतिहासमा कराँतेतर्फ चितवन टिम प्रथम भएको यो पहिलो अवसर हो ।

चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीको नेतृत्वमा प्रदेश खेलकुद छनोटअघि पहिलो पटक बन्द प्रशिक्षण सञ्चालन गरिएको थियो । खेलाडीको क्षमता अभिवृद्धिका लागि गरिएको सो तयारीले सकारात्मक परिणाम दिएको मानिएको छ ।

प्रतियोगितामा काठमाडौं ३ स्वर्ण र २ कास्यसहित दोस्रो तथा ललितपुर २ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित तेस्रो भएको प्रतियोगिता संयोजक रवि महर्जनले जानकारी दिए ।

१७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको प्रतियोगितामा नुवाकोटका साहिल नेपाली पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए भने दिया पहरी महिलातर्फ उत्कृष्ट खेलाडी चुनिइन् ।

समापन समारोहमा नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य कृष्णबहादुर नेपाल ‘सुजन’, चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की, सितोरियो कराँते बागमतीका अध्यक्ष गगन लामा तथा प्रतियोगिता संयोजक रवि महर्जनलगायतले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष युवराज लामाले नियमित अभ्यास र यस्ता प्रतियोगिताले खेलाडीको क्षमता निखार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले हाल देशका ६ वटा प्रदेशमा खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको जानकारी पनि दिए ।

चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले जिल्लाको खेलकुद क्षेत्र सही दिशामा अघि बढिरहेको उल्लेख गर्दै आफूले जिम्मेवारी सम्हालेयता प्रशिक्षण, तालिम तथा खेल सामग्री सहयोगमार्फत खेल क्षेत्रको विकासमा विशेष ध्यान दिएको बताए । त्यसको प्रतिफलस्वरूप चितवनले राष्ट्रियस्तरका प्रतियोगिताहरूमा पनि निरन्तर राम्रो नतिजा हासिल गरिरहेको उनको भनाइ थियो ।

उल्लेखनीय रूपमा, तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवन यसअघि पुरुष क्रिकेट र एथलेटिक्समा पनि च्याम्पियन बनिसकेको छ भने महिला क्रिकेटमा उपविजेता बनेको छ। कराँतेमा प्राप्त यो सफलतासँगै चितवनको पदक यात्रा थप सशक्त बनेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट