चितवनमा कृषि संवाद : कृषि शिक्षा, अनुसन्धान, नीति र उद्यमशीलताको एकीकृत आवश्यकतामा जोड

चितवन, ४ असार ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को १६औँ स्थापना दिवसको अवसरमा ‘नेपालमा कृषिको भविष्यः शिक्षा, अनुसन्धान, नीति र उद्यमशीलता’ विषयक विशेष कृषि संवाद कार्यक्रम सम्पन्न भएको छ । कृषि संकायका डीन प्रा.डा. सुन्दर तिवारीको नेतृत्वमा आयोजित कार्यक्रममा कृषि क्षेत्रका समसामयिक चुनौती, नीतिगत समस्या, अनुसन्धानको प्रभावकारिता र भावी रणनीतिबारे व्यापक छलफल भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रा.डा. तिवारीले कृषि क्षेत्रका जटिल समस्याको समाधानका लागि प्राज्ञिक क्षेत्र, अनुसन्धान संस्था, नीति निर्माता र किसानबीच प्रत्यक्ष संवाद आवश्यक रहेको बताउनुभयो । समापनका क्रममा उहाँले विश्वविद्यालयको द्रुत प्रतिकार्य टोली (Rapid Response Team) सहित किसानको खेतबारीमै पुगेर समस्या पहिचान तथा समाधानमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. होमबहादुर बस्नेत, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्व कार्यकारी निर्देशक डा. यमराज पाण्डे, बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव सुधिर श्रेष्ठ तथा कृषि उद्यमी डा. भानेश्वर पोखरेलले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा प्राङ्गारिक कृषक चन्द्रप्रसाद अधिकारी, महिला उद्यमी तथा किसान नेत्री रीता बस्ताकोटी, शिक्षक, कर्मचारी, विद्यार्थी, कृषि विज्ञ तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

उपकुलपति बस्नेतले कृषि शिक्षालाई व्यवहारिक, समयानुकूल र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिँदै शिक्षा, अनुसन्धान र उत्पादनबीचको सम्बन्ध अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय तहसँगको सहकार्यलाई सुदृढ गर्दै आधुनिक प्रविधि हस्तान्तरणमा विश्वविद्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।

नार्कका पूर्व कार्यकारी निर्देशक डा. यमराज पाण्डेले अनुसन्धानलाई किसानको आवश्यकता र बजारको मागसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई अनिवार्य अवकाश दिने नीतिका कारण कृषि क्षेत्रमा अनुभवी जनशक्ति गुम्ने चिन्ता व्यक्त गर्दै क्षमता र दक्षताका आधारमा नीतिहरू पुनरावलोकन गर्नुपर्ने सुझाव दिनुभयो ।

कृषि सचिव सुधिर श्रेष्ठले उत्पादनमुखी, किसानमैत्री तथा उद्यम प्रवर्द्धन गर्ने नीति आवश्यक रहेको बताउनुभयो भने कृषि उद्यमी डा. भानेश्वर पोखरेलले कृषिलाई सम्मानजनक र लाभदायी व्यवसायका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्राङ्गारिक कृषक चन्द्रप्रसाद अधिकारीले भारतीय कृषि विश्वविद्यालयहरू किसान–विश्वविद्यालय सम्बन्धमा नेपालभन्दा धेरै अगाडि रहेको उल्लेख गर्दै एएफयूले पनि किसानसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले नियमित फिल्ड भ्रमण, किसान फिल्ड स्कूल र अनुसन्धानको तत्काल हस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी प्राङ्गारिक कृषकहरूले प्राविधिक सहयोग, प्रमाणीकरण र बजारीकरणमा सरकारी सहयोगको माग गरेका थिए । जवाफमा कृषि सचिव श्रेष्ठले चितवनमा प्राङ्गारिक उत्पादनका लागि विशेष बिक्री केन्द्र (अर्गानिक आउटलेट) स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खुला छलफलमा किसानहरूले धानमा देखिएका ब्लास्ट र लीफ ब्लाइटजस्ता रोगविरुद्ध प्रतिरोधी जात विकासमा नार्कको प्रभावकारिता कमजोर भएको भन्दै असन्तुष्टि जनाएका थिए ।
अनुसन्धानका उपलब्धिहरू किसानसम्म पर्याप्त रूपमा नपुगेको र प्रयोगशाला तथा खेतबारीबीच दूरी बढेको उनीहरूको गुनासो थियो ।

सहभागीहरूले स्थानीय तहहरूले कृषि विश्वविद्यालय र अनुसन्धान संस्थासँग सहकार्य गरी माटो, हावापानी र बालीअनुसार अनुसन्धान तथा प्रविधि हस्तान्तरणलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए । पालिकास्तरमा र्यापिड रेस्पोन्स टिम परिचालन गरेर किसानका समस्या समाधान गर्न सकिने धारणा पनि व्यक्त गरिएको थियो ।

कार्यक्रमको निष्कर्षमा कृषि शिक्षा, अनुसन्धान, नीति निर्माण र उद्यमशीलताबीच प्रभावकारी समन्वय स्थापित गर्न सके मात्र नेपालको कृषि क्षेत्र आधुनिक, आत्मनिर्भर र प्रतिस्पर्धी बन्न सक्ने साझा निष्कर्ष निकालिएको थियो । आयोजकका अनुसार संवादले नीति निर्मातादेखि किसान र विद्यार्थीसम्मका सरोकारवालाबीच अनुभव आदानप्रदान तथा दीर्घकालीन रणनीतिमा साझा बुझाइ निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट