विदेशको सीप र अनुभव स्वदेशमा लगानी, भरतपुरमा खुल्यो गौँथली रेष्टुरेण्ट

भरतपुर, ४ असार ।
भरतपुर महानगरपालिका–१० स्थित कालिका चोकमा गौँथली रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बुधबार आयोजित कार्यक्रममा चितवन चेम्बर अफ कमर्सका उपाध्यक्ष रुवीन रामुदामुले रेष्टुरेण्टको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि बोल्दै रामुदामुले विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय सुरु गर्नु सकारात्मक र प्रेरणादायी कदम भएको बताए । अहिले ठूलो संख्यामा युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै उद्यमशीलता विकास गर्ने युवाहरू अरूका लागि पनि उदाहरण बन्ने उनको भनाइ थियो ।

देशको वर्तमान आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन चुनौतीपूर्ण रहे पनि त्यसभित्र अवसरहरू पनि रहेको उल्लेख गर्दै उनले गुणस्तरीय सेवा र स्वादिष्ट खानामार्फत ग्राहकको विश्वास जित्न सुझाव दिए । साथै, चेम्बर अफ कमर्सले आगामी दिनमा यस्ता व्यवसायीलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रेष्टुरेण्टका सञ्चालक जीवन खड्काले ६ वर्ष दक्षिण कोरियामा बसेर हस्पिटालिटी क्षेत्रमा हासिल गरेको सीप र अनुभवलाई स्वदेशमै प्रयोग गर्ने उद्देश्यले व्यवसाय सुरु गरेको बताए ।

“कोरियामा राम्रो आम्दानी भए पनि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ फर्किएको हुँ,” उनले भने, “विदेशमा सिकेको अनुभव र मेहनत नेपालमै लगाउन सके यहाँ पनि राम्रो सम्भावना छ ।”

करिब ४० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको रेष्टुरेण्टमा इन्डियन, चाइनिज, कोरियन, कन्टिनेन्टल तथा नेपाली परिकार उपलब्ध हुने सञ्चालक खड्काले जानकारी दिए । पर्याप्त पार्किङ सुविधासहित बार, क्याबिन र मिनी हलको व्यवस्था रहेको र रेष्टुरेण्टबाट करिब आधा दर्जन व्यक्तिले रोजगारी पाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट