चितवन, १ असार ।
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने चितवनका खेलाडी तथा प्रशिक्षकलाई खेल सामग्रीसहित बिदाइ गरिएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले सोमबार एक कार्यक्रम आयोजना गरी खेलाडी तथा प्रशिक्षकलाई ट्र्याकसुटसहित बिदाइ गरेको हो ।
असार ३ देखि ९ गतेसम्म मकवानपुरको हेटौंडा, काठमाडौं, ललितपुर र चितवनमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई समितिका अध्यक्ष राजन कार्कीलगायतले खेल सामग्री हस्तान्तरण गर्दै शुभकामना दिएका थिए ।
समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार बागमती प्रदेश खेलकुदमा सहभागी खेलाडीलाई पहिलो पटक ट्र्याकसुटसहित भव्य रूपमा बिदाइ गरिएको हो । समितिले फुटबल, क्रिकेट, महिला तथा पुरुष भलिबल, बक्सिङ, एथ्लेटिक्स, ब्याडमिन्टन, पौडी, उसु, बुद्धिचाल, जुडो र टेबल टेनिसका २०५ जना खेलाडी तथा प्रशिक्षकलाई खेल सामग्री उपलब्ध गराएको छ ।
अध्यक्ष कार्कीले खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले समितिको इतिहासमै पहिलो पटक ट्र्याकसुटसहित बिदाइ कार्यक्रम आयोजना गरिएको बताए । यस्ता गतिविधिले खेलाडीमा अभिभावकत्वको भावना विकास हुने र उत्कृष्ट नतिजा हासिल गर्न थप प्रेरणा मिल्ने उनको भनाइ थियो ।
उनले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना पनि व्यक्त गरे ।
प्रतियोगिताअन्तर्गत चितवनमा कराते र महिला क्रिकेटका खेलहरू सञ्चालन हुनेछन् भने अन्य खेलहरू हेटौंडा, काठमाडौं र ललितपुरमा आयोजना गरिनेछन् ।




