३५ टोलीको सहभागितामा टुटेपानीमा घाँटु भोज सम्पन्न

तनहुँ, २४ जेठ ।
तनहुँको भानु नगरपालिका–१३ टुटेपानीमा नमुना तमूँ समाजको आयोजनामा परम्परागत घाँटु भोज कार्यक्रम सम्पन्न भएको छ ।

तमूँ समुदायको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न गाउँ तथा संघसंस्थाबाट आएका ३५ टोलीको सहभागिता रहेको थियो। सहभागी टोलीहरूले घाँटु संस्कृतिसँग सम्बन्धित विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई उत्सवमय बनाएका थिए ।

कार्यक्रमबारे जानकारी दिँदै नमुना तमूँ समाजका अध्यक्ष क्याप्टेन होमबहादुर गुरुङले घाँटु भोज तमु समुदायको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षण, संवर्द्धन र पुस्तान्तरण आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले समुदायबीच एकता, सद्भाव र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता सांस्कृतिक कार्यक्रमले मौलिक संस्कृतिको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

अध्यक्ष गुरुङका अनुसार तमूँ समुदायको भाषा, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

३५ टोलीको सहभागितासहित सम्पन्न घाँटु भोजले टुटेपानी क्षेत्रलाई सांस्कृतिक उत्सवमय बनाउँदै तमूँ समुदायको मौलिक पहिचानलाई थप उजागर गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट