साँग्रिला बोर्डिङमा नमुना निर्वाचन सम्पन्न

राप्ती, २३ जेठ ।
राप्ती नगरपालिका–५, भण्डारास्थित साँग्रिला ईङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यासको व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले नमुना विद्यालय निर्वाचन सम्पन्न गरिएको छ ।

निर्वाचनमार्फत छात्र प्रमुख, छात्रा प्रमुख तथा चारवटा सदनका प्रमुख र उपप्रमुख चयन गरिएको विद्यालयका प्रिन्सिपल गोकुल सिलवालले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरूलाई निर्वाचन प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता, मताधिकारको प्रयोग तथा जिम्मेवार नागरिकको भूमिकाबारे प्रत्यक्ष अनुभव प्रदान गर्न कार्यक्रम आयोजना गरिएको हो ।

निर्वाचनमा कुल २७९ मतदाता सहभागी हुन योग्य रहेकामा २६४ मत खसेको थियो । मतदान प्रक्रियामा कक्षा १० का विद्यार्थीहरूले निर्वाचन आयुक्त, मतदान अधिकृत तथा सहायक अधिकृतको भूमिका निर्वाह गरेका थिए भने स्काउटका विद्यार्थीहरूले स्वयंसेवक तथा सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए ।

मतपरिणामअनुसार विद्यालय छात्र प्रमुखमा संजोग थपलिया र छात्रा प्रमुखमा ग्लोरी धरेल निर्वाचित भएका छन् । त्यसैगरी निलो सदनको प्रमुखमा राजदिप नेपाल र उपप्रमुखमा निश्चल तमाङ, हरियो सदनको प्रमुखमा सेजल गुरुङ र उपप्रमुखमा प्रिन्स अधिकारी, रातो सदनको प्रमुखमा अस्विन श्रेष्ठ र उपप्रमुखमा समिना तिवारी, तथा पहेँलो सदनको प्रमुखमा प्रिन्सेस गुरुङ र उपप्रमुखमा शिशिर घिमिरे चयन भएका छन् ।

विजयी विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल सिलवालले प्रमाणपत्र, माला, अबिर तथा पदक ब्याज प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । विद्यालयले यस्ता गतिविधिले विद्यार्थीमा नेतृत्व क्षमता, सहभागितामूलक संस्कार र लोकतान्त्रिक चेतनाको विकास हुने विश्वास व्यक्त गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट