भरतपुर, २२ जेठ ।
विश्व वातावरण दिवस २०२६ को अवसरमा भरतपुर महानगरपालिकाको आयोजनामा तथा बेटर चितवनको संयोजनमा सम्पन्न महानगरस्तरीय ‘जङ्क आर्ट’ प्रतियोगितामा सिर्जना इङ्लिस स्कुल प्रथम भएको छ ।
भरतपुर महानगरपालिका परिसरमा आयोजित प्रतियोगिता ‘फोहोरबाट सिर्जना : प्लास्टिक प्रदूषण अन्त्यको कला’ भन्ने नारासहित सञ्चालन गरिएको थियो । कक्षा ६ देखि ९ सम्मका विद्यार्थी सहभागी हुन पाउने प्रतियोगितामा चितवनका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सहभागी टोलीहरूले फालिएका तथा पुराना सामग्री प्रयोग गरी निर्धारित समयभित्र प्रत्यक्ष रूपमा कलाकृति निर्माण गर्नुपर्ने व्यवस्था थियो । कलाकार, वातावरणविद् र शिक्षाविद्हरू सम्मिलित निर्णायक मण्डलले सृजनात्मकता, उपयोगिता, वातावरणीय सन्देश तथा प्रस्तुतीकरणका आधारमा मूल्याङ्कन गरेको थियो ।
सिर्जना इङ्लिस स्कुलका सम्राट अधिकारी, अक्सा उप्रेती र रोशनी अधिकारी सम्मिलित टोलीले प्लास्टिकका बोतल, चाउचाउका खोल, मन्जनका ट्युब र पुराना कार्टुन प्रयोग गरी फिनिक्स चराको आकर्षक कलाकृति निर्माण गर्दै प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा सनराइज इङ्लिस स्कुल दोस्रो तथा अर्चिड स्कुल तेस्रो भएका छन् ।
सिर्जनाको टोलीले फोहोर सामग्रीबाट फोहोरदानी, कलमदानी, फूलदान, डस्टर र फोटो फ्रेमजस्ता बहुउपयोगी सामग्री समेत निर्माण गरेको थियो । साथै प्लास्टिक प्रदूषणसम्बन्धी चेतनामूलक संवाद र प्रस्तुतीकरणमार्फत वातावरण संरक्षणको सशक्त सन्देश दिएको आयोजकले जनाएको छ ।
विद्यालयले विजेता विद्यार्थीहरूलाई बधाई दिँदै वातावरण संरक्षण र विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धिका लागि यस्ता रचनात्मक गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।





