बीवाईडी आयातबारे साइमेक्सको स्पष्टीकरण

काठमाडौं, २२ जेठ ।
नेपालका लागि बीवाईडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले ठूलो संख्यामा सवारीसाधन आयात गरिएको विषयमा उठेका प्रश्नप्रति स्पष्टिकरण दिँदै सम्पूर्ण आयात प्रक्रिया प्रचलित कानुन, भन्सार नियमावली तथा नियामकीय व्यवस्थाअनुसार पारदर्शी रूपमा सम्पन्न भएको जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो परिमाणमा विद्युतीय सवारीसाधन आयात गरिएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सार्वजनिक वृत्तमा चर्चा भएपछि कम्पनीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार चीनतर्फको भन्सार क्षेत्रमा पुगेका २२६ वटा सवारीसाधन हालसम्म नेपालमा भन्सार जाँचपास भएका छैनन् । सञ्चारमाध्यममा उल्लेख गरिएका अन्य सवारीसाधन भने नेपाल सरकारको प्रचलित कानुन र भन्सार प्रक्रियाअनुसार विधिवत् रूपमा आयात तथा जाँचपास गरिएको कम्पनीले जनाएको छ ।

साइमेक्सले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको तथा त्यस्तो कुनै सुविधा नमागेको स्पष्ट पारेको छ । सरकारी निकायसँग मिलेमतो गरी कर परिवर्तनबाट जोगिन सवारीसाधन भित्र्याइएको भन्ने आरोपलाई कम्पनीले पूर्ण रूपमा असत्य र आधारहीन बताएको छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कर परिवर्तनबाट बच्न खोजिएको भन्ने आरोपले कम्पनीको प्रतिष्ठामा गम्भीर आघात पुर्‍याएको छ ।”

साइमेक्सका अनुसार आयात गतिविधि नियमित व्यावसायिक आवश्यकता, बजारको माग, मौज्दात व्यवस्थापन तथा ढुवानी तालिकाका आधारमा योजनाबद्ध रूपमा सञ्चालन गरिएको हो । ग्राहकबाट प्राप्त सुनिश्चित बुकिङ पूरा गर्न तथा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न आयात गरिएको कम्पनीको भनाइ छ । साथै, बीवाईडीको उत्पादन तालिका, अन्तर्राष्ट्रिय ढुवानी उपलब्धता र व्यवसायिक योजनालाई ध्यानमा राखेर प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

कम्पनीले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने उल्लेख गर्दै आवश्यक परे आयात रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, भुक्तानी विवरणलगायत सम्बन्धित कागजात उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

सञ्चारमाध्यम तथा सरोकारवालालाई आधिकारिक तथ्य र प्रमाणका आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्दै कम्पनीले अपुष्ट जानकारीका आधारमा निष्कर्षमा नपुग्न अनुरोध गरेको छ । यस्ता सामग्रीले व्यवसायिक वातावरण र प्रतिष्ठामा नकारात्मक असर पार्न सक्ने कम्पनीको भनाइ छ ।

साइमेक्सले नेपालमा विद्युतीय सवारीसाधनको विस्तारले वातावरण संरक्षण, इन्धन आयात न्यूनीकरण तथा दिगो यातायात प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै पारदर्शिता, कानुनको पालना र जवाफदेहिताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट