‘बखान’ले उजागर गर्‍यो चितवनको लुकेको इतिहास र गुमनाम योद्धाको संघर्ष

काठमाडौं, ४ जेठ ।
लेखक तथा पत्रकार वसन्त पराजुलीको ‘बखान’ उपन्यासले पश्चिम चितवनको बस्ती विकाससँगै तत्कालीन सामाजिक–आर्थिक अवस्था, प्रजातन्त्र स्थापनाका लागि भएका संघर्ष र गुमनाम योद्धाको योगदानलाई उजागर गरेको चर्चा गरिएको छ ।

शिखा बुक्सद्वारा आइतबार आयोजित ‘बखान’ उपन्यासमाथिको अन्तरसंवाद कार्यक्रममा सहभागी साहित्यकार र समीक्षकहरूले उक्त कृतिले इतिहासका ओझेलमा परेका पात्रलाई नयाँ पुस्तासम्म पुर्‍याउन सफल भएको बताएका हुन् ।

कार्यक्रममा समीक्षक गुरुङ सुशान्तले ‘बखान’ले चितवनको विकासमा योगदान पुर्‍याएका बखानसिंह गुरुङले तत्कालीन शासन व्यवस्थाविरुद्ध उभिँदा भोग्नुपरेको पारिवारिक विखण्डन र त्यस समयको सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले इतिहासमा गुमनाम हुन पुगेका बखानसिंहलगायतका योद्धाहरूको संघर्षलाई उपन्यासका माध्यमबाट पाठकमाझ ल्याउनु कृतिको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो ।

चितवनको बखानपुर क्षेत्रमा जन्मिएर हुर्किएकी शिला बस्नेतले आफूले बाल्यकालदेखि नै आमाहरूबाट बखानसिंह गुरुङका संघर्षका कथा सुन्दै आएको बताउनुभयो । उहाँले प्रजातन्त्रका लागि आफ्ना छोराको बलिदानसमेत स्वीकार गर्दै लड्ने व्यक्तित्वको इतिहास नयाँ पुस्तासामु ल्याइएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँका अनुसार बखानसिंह गुरुङ नेपालको पहिलो सहकारीका प्रवर्धकमध्ये एक हुनुहुन्थ्यो ।

साहित्यकार राजकुमार बानियाँले ‘बखान’ले चितवनका सीमान्तकृत समुदायको आवाजसमेत समेट्दै प्रजातन्त्र आन्दोलनको इतिहास र बखानसिंह गुरुङ तथा बिपी कोइरालाबीचको आत्मीय सम्बन्धलाई समेत समेटेको बताउनुभयो । साहित्यकार कुन्ता शर्माले पनि उपन्यासले नेपालको राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका विभिन्न पात्रहरूको इतिहास प्रस्तुत गरेको धारणा राख्नुभयो ।

प्राडा लक्ष्मण गौतमले ‘बखान’लाई स्थलगत अध्ययन र गहिरो अनुसन्धानबाट तयार पारिएको कृति भएको बताउनुभयो । सर्जक पुरुषोत्तम दाहालले भने बखानसिंह गुरुङले आफ्ना दुई छोराको सहादतका क्रममा भोगेको भावनात्मक पक्ष अझ विस्तारमा आउन सक्ने टिप्पणी गर्नुभयो ।

कार्यक्रममा लेखक वसन्त पराजुलीले सहभागी सबैप्रति कृतज्ञता व्यक्त गर्दै प्राप्त सुझावलाई आगामी लेखनमा समेट्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले ‘बखान’ कुनै व्यक्तिको जीवनी मात्र नभई चितवनको बस्ती विकासदेखि सामाजिक र राजनीतिक परिवेशसम्मको लुकेको इतिहास उजागर गर्ने प्रयास भएको बताउनुभयो ।

‘बखान’ लेखक पराजुलीको चौथो प्रकाशित कृति हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट