गाडी रिजर्भ गरेर कोटिहोम महायज्ञ पुग्दै भक्तजन, सामूहिक दर्शनमा बढ्दो आकर्षण

चितवन, ४ जेठ ।
वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा भक्तजनहरू गाडी नै रिजर्भ गरेर सामूहिक रूपमा दर्शनका लागि पुग्न थालेका छन् । विभिन्न टोल विकास संस्था, आमा समूह तथा धार्मिक संघसंस्थामा आबद्ध भक्तजनले समूह बनाएर महायज्ञमा सहभागिता जनाउन थालेपछि धार्मिक वातावरण थप उत्साहपूर्ण बन्दै गएको छ ।

महायज्ञमा पुग्ने भक्तजनहरूले दर्शनसँगै आर्थिक सहयोग, चरु सामग्री तथा गाईका लागि चोकरलगायत सामग्री पनि प्रदान गरिरहेका छन् । आइतबार भरतपुर–१८ स्थित लक्ष्मी भजन कीर्तन समूहका भक्तजनहरू सामूहिक रूपमा महायज्ञस्थल पुगेका थिए । उनीहरूले महायज्ञलाई सफल बनाउन चरु, गाईका लागि चोकर र नगद सहयोग प्रदान गरेका हुन् ।

समूहका अध्यक्ष कोमलनाथ पौडेलका अनुसार बिदाको दिन पारेर स्कुल बस रिजर्भ गरी भक्तजनहरू महायज्ञमा पुगेका हुन् । “धर्म र संस्कृतिले हाम्रा पितृ तथा कुलहरूको उद्धार गर्नुका साथै समाजमा शान्ति र कल्याणको सन्देश फैलाउँछ,” उनले बताए ।

महायज्ञको चर्चा सामाजिक सञ्जालमार्फत थाहा पाएपछि लमजुङको राइनासबाट आएकी कान्ति हटुवाल पनि दर्शनका लागि वागीश्वरी पुगेकी थिइन् । “विश्व शान्तिका लागि आयोजना गरिएको यज्ञ भएकाले प्रत्यक्ष उपस्थित भएर यसको अनुभूति गर्न आएको हुँ,” उनले भनिन् ।

यसैबीच, भरतपुर–१० दोभान कालिका टोल विकास संस्थाका सदस्यहरूले संयुक्त रूपमा १८ हजार रुपैयाँ सहयोग गरेका छन् भने भरतपुर–१२ पोखरेली टोलका महिलाहरूले चरु सामग्रीसँगै १० हजार २३० रुपैयाँ आर्थिक सहयोग गरेका छन् । पछिल्लो समय महायज्ञमा सामूहिक रूपमा दर्शन गर्ने भक्तजनहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको आयोजकले जनाएको छ ।

वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथा वाचन गरिरहेका छन् । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा आयोजित १३०औँ महायज्ञमा नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ तथा भागवत पाठ परायण जारी रहेको छ ।

त्यसैगरी महायज्ञमा नौ वर्षमुनिका एक हजार आठ बालिकाको सामूहिक पूजा, गौकथा प्रवचन, धार्मिक ग्रन्थहरूको पाठपरायण तथा पाँचसरे सवा करोड दीप प्रज्वलनलगायतका कार्यक्रम पनि गरिने जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट