भागवत कथा र भजनकिर्तनले कोटिहोम महायज्ञमा थपियो रौनक

चितवन, ३ जेठ ।
वागीश्वरी आध्यात्मिक परिषद् अन्तर्गत योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा शनिबार भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ । भागवत कथा श्रवण तथा संगीतमय भजनकिर्तनमा सहभागी हुन बिहानैदेखि भक्तजनको भीड लागेको आयोजकले जनाएको छ । शनिबार महायज्ञ सुरु भएयताकै सबैभन्दा धेरै भक्तजन सहभागी भएको बताइएको छ ।

महायज्ञमा गोरक्ष बिज मन्त्रद्वारा नियमित हवन सञ्चालन भइरहेको छ । विभिन्न कारणले बितेका गाईहरूको मोक्षको कामना गर्दै शुक्रबार रुद्री पूजा पनि गरिएको थियो । आश्रमको गौशालामा स्थानीय जातका गाईहरूको संरक्षण गरिँदै आएको छ । गौशालामा बितेका गाईहरूको धार्मिक विधिअनुसार काजकिरिया गर्न नसकिएको अवस्थालाई मध्यनजर गर्दै विशेष पूजा आयोजना गरिएको जनाइएको छ ।

वैशाख १७ गतेदेखि सञ्चालनमा रहेको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञमा आर्थिक सहयोग, चरु, फलफूल तथा तरकारी प्रदान गर्ने सहयोगीहरूको संख्या पनि बढ्दै गएको छ । सामाजिक तथा धार्मिक व्यक्तित्वसँगै विभिन्न संघसंस्थाहरूले सहयोग गरिरहेको महायज्ञका संयोजक एवं मूलकर्ता प्रेमनिधि भारद्वाजले जानकारी दिए ।

महायज्ञमा प्रमुख वाचकका रूपमा ज्योतिष पण्डित परशुराम पाण्डेयले भागवत कथा वाचन गरिरहेका छन् । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा सञ्चालन भइरहेको यो १३०औँ महायज्ञ आगामी असार १३ गतेसम्म जारी रहनेछ ।

महायज्ञ अवधिभर नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ तथा भागवत पाठ परायण भइरहेको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन गरिएको हो ।

यस्तै, महायज्ञमा नौ वर्षमुनिका एक हजार आठ बालिकाको सामूहिक पूजा, पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड तथा शिखरिणी यात्रासम्बन्धी धार्मिक ग्रन्थ पाठपरायण, गौकथा प्रवचन तथा पाँचसरे सवा करोड दीप प्रज्वलनजस्ता विशेष धार्मिक कार्यक्रमहरू पनि सञ्चालन गरिने जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट