गैंडाकोट, ३ जेठ ।
गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (ओसीईएम) अन्तर्गत सञ्चालित अक्सफोर्ड सेकेन्डरी स्कुलले कक्षा १२ का विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ । गैंडाकोटको द नारायणी रिसोर्टमा आयोजित समारोह २०८२ ब्याचका विद्यार्थीहरूको सम्मान तथा बिदाइका लागि विशेष रूपमा आयोजना गरिएको थियो ।
समारोहमा कलेज सञ्चालक समिति, प्राध्यापक, कर्मचारी तथा सयौं विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो भने उनीहरूको शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक प्रो. डा. ई. हरि भण्डारीले अक्सफोर्डले केवल शैक्षिक उपलब्धिमा मात्र नभई नेतृत्व क्षमता, नैतिक मूल्य, व्यक्तित्व विकास तथा व्यवहारिक ज्ञान विकासमा समेत विशेष जोड दिँदै आएको बताउनुभयो । उहाँले आधुनिक प्रविधि र दक्ष शिक्षक टोलीमार्फत विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा विद्यालय निरन्तर सक्रिय रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो ।
समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेका प्रेरणादायी मन्तव्य, गीत–संगीत, सांस्कृतिक प्रस्तुति तथा नृत्यले कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको थियो । सहभागी विद्यार्थीहरूले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन तथा विद्यार्थीमैत्री वातावरणको प्रशंसा गरेका थिए ।
विद्यालय प्रशासनले उच्च शिक्षाको आगामी यात्राका लागि विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न प्रेरित गरेको जनाएको छ । विद्यालयका अनुसार दीक्षान्त समारोहले विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण माइलढुङ्गाका रूपमा नयाँ ऊर्जा र उत्साह थपेको छ ।
यसैबीच, विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा भर्ना खुला रहेको जानकारी दिएको छ । विद्यालयले अनुभवी शिक्षक टोली, आधुनिक प्रयोगशाला, स्मार्ट कक्षा तथा अतिरिक्त क्रियाकलापमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।





