अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको नेपाली अनुवाद
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने औपचारिक भ्रमणका लागि चीन पुगेका छन् । बेइजिङमा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तामा व्यापार, प्रविधि, ताइवान, कृत्रिम बौद्धिकता (एआई) तथा इरान युद्धका विषय प्रमुख एजेन्डाका रूपमा उठेका छन् ।
ट्रम्पलाई बेइजिङमा भव्य स्वागत गरिएको थियो । ग्रेट हल अफ द पिपुलमा आयोजित औपचारिक समारोहमा दुवै नेताले हात मिलाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ चरणमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । भ्रमणका क्रममा ट्रम्पले चीनको ऐतिहासिक ‘टेम्पल अफ हेभेन’ समेत अवलोकन गरेका थिए ।
भेटवार्ताका क्रममा राष्ट्रपति सी जिनपिङले ताइवानको विषयलाई अमेरिका–चीन सम्बन्धको सबैभन्दा संवेदनशील मुद्दा भएको बताएका छन् । चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिकाले ताइवान मामिलालाई “गलत तरिकाले सम्हाले” दुवै देशबीच द्वन्द्वको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएको उल्लेख गरेका छन् ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोको चीन भ्रमण पनि चर्चामा रहेको छ । चीनले यसअघि रुबियोमाथि प्रतिबन्ध लगाएको भए पनि बेइजिङ भ्रमणका लागि उनको चिनियाँ नामको अक्षर परिवर्तन गरी कूटनीतिक समाधान निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो भ्रमण सन् २०१७ पछिको ट्रम्पको दोस्रो चीन भ्रमण हो भने करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिले चीनको औपचारिक भ्रमण गरेका हुन् । विश्लेषकहरूले यस भेटवार्तालाई विश्व अर्थतन्त्र, सुरक्षा तथा अमेरिका–चीन सम्बन्धको भविष्य निर्धारण गर्ने महत्वपूर्ण कूटनीतिक घटनाका रूपमा हेरेका छन् ।





