नेपाल यातायात व्यवसायी महासङ्घको वरिष्ठ उपाध्यक्षमा गोकर्ण पराजुलीको उम्मेदवारी

मकवानपुर, २९ वैशाख ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ को सातौँ महाधिवेशन अन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा मकवानपुरका अनुभवी यातायात व्यवसायी गोकर्ण प्रसाद पराजुलीले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशको पोखरा मा सोमबारदेखि सुरु भएको महाधिवेशनको निर्वाचन आज मंगलबार हुँदैछ ।


यातायात क्षेत्रका अनुभवी र इमानदार नेतृत्वका रूपमा परिचित पराजुली यसअघि महासङ्घका विज्ञ सल्लाहकार रहिसकेका छन् भने निवर्तमान कार्यसमितिमा केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् ।

नेपालको यातायात क्षेत्र असहज नीति, व्यवसायिक असुरक्षा तथा बदलिँदो परिस्थितिका कारण चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले आफ्नो अनुभव, संघर्ष र व्यवहारिक ज्ञानलाई व्यवसायीको हितमा प्रयोग गर्न उम्मेदवारी दिएको बताएका छन् ।

“यस्तो परिस्थितिमा विगतको अनुभव र संघर्षलाई व्यवसायीको हितमा उपयोग गर्न खोजेको हुँ,” पराजुलीले भने ।

व्यवसायीको हक, सम्मान र सुरक्षित भविष्य आफ्नो मुख्य अठोट रहेको उल्लेख गर्दै उनले विभाजित अवस्थामा रहेका यातायातसम्बन्धी महासङ्घ तथा संगठनलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“विभिन्न धार र संरचनामा रहेका संगठनलाई एउटै साझा छातामुनि ल्याई बलियो, एकीकृत र प्रभावकारी महासङ्घ निर्माणमा पहल गर्नेछु,” उनले बताए ।

पराजुलीले महासङ्घको संस्थागत सुदृढीकरणका लागि आफ्नै आधुनिक भवन निर्माण, राज्यसँग प्रभावकारी नीतिगत पैरवी तथा व्यवसायीमैत्री नीति निर्माणमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् । कर, बीमा, जरिवाना, नवीकरण, बैंक ब्याजलगायत समस्याको समाधानमा सक्रिय भूमिका खेल्ने उनको भनाइ छ ।

त्यस्तै मालवाहक, यात्रुवाहक, इन्धन ढुवानी, साना तथा मझौला सवारीधनी सबैको साझा प्रतिनिधित्व गर्दै महासङ्घलाई सम्पूर्ण यातायात व्यवसायीको साझा घर बनाउने उनले बताएका छन् ।

दुर्घटनापीडित व्यवसायीका लागि राहत प्रणालीलाई थप सुदृढ बनाउने योजना पनि उनले अघि सारेका छन् । छुट्टै राहत कोष स्थापना गरी प्रभावकारी संरक्षण प्रणाली निर्माणमा आफू सक्रिय रहने उनको प्रतिवद्धता छ ।

को हुन् गोकर्ण पराजुली ?
पराजुली नारायणी यातायात व्यवसायी संघ मा सचिव, कोषाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष बनेका व्यक्ति हुन् । साथै, मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ का अध्यक्षका रूपमा इन्धन ढुवानी व्यवसायीहरूको हकहितमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

त्यसैगरी नेपाल ट्रक यातायात व्यवसायी महासंघ को वरिष्ठ उपाध्यक्षका रूपमा राष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले मकवानपुर उद्योग वाणिज्य संघ को महासचिव भएर निजी क्षेत्र र व्यवसायिक हित संरक्षणमा योगदान दिएका छन् ।

दुर्घटनाबाट प्रभावित व्यवसायीहरूको राहत तथा संरक्षणका लागि हित कोष सञ्चालनमा अग्रणी भूमिका खेलेका पराजुलीलाई यातायात क्षेत्रमा अनुभवले खारिएको नेतृत्वका रूपमा हेरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट