तनहुँका गुरुङ बस्तीमा मौलिक घाटु नाचको रौनक

तनहुँ, २५ वैशाख ।
तनहुँ जिल्लाका विभिन्न गुरुङ बस्तीहरूमा ऐतिहासिक तथा परम्परागत घाटु नाचप्रति संरक्षण र प्रवर्द्धनको चासो बढ्न थालेको छ। लोकसंस्कृतिमा आधारित मौलिक घाटु नाच नयाँ पुस्तामा हस्तान्तरण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले गाउँ–गाउँमा घाटु नाच सञ्चालन भइरहेको हो ।

भानु नगरपालिका–१३ बासपानी, बन्दीपुर गाउँपालिका–२ आरथुम्का,बन्दिपुर गाउँपालिका -६ कमलबारी , आँबुखैरेनी गाउँपालिकाको भोटेस्वारा, हिलेखर्क, दमौली, फुलिमरङ, टुटेपानी गाउँहरूमा वैशाख पूर्णिमाको अवसर पारेर घाटु नाच सुरु गरिएको स्थानीयवासीहरूले बताएका छन् ।

स्थानीयका अनुसार घाटु नाचले गाउँमा सांस्कृतिक रौनक थप्नुका साथै आन्तरिक पर्यटकको आगमनसमेत बढाएको छ । जिल्ला समन्वय समितिका पूर्व सदस्य गलबहादुर गुरुङले घाटु नाचले मौलिक संस्कृति, एकता र परम्पराको अनुपम सन्देश दिने बताए । उनका अनुसार घाटु नाच सञ्चालन हुँदा गाउँको वातावरण जीवन्त बन्नुका साथै होमस्टेमा बस्ने पर्यटकले गुरुङ संस्कृतिलाई नजिकबाट अनुभव गर्ने अवसर पाउने गरेका छन् ।

पर्यटन विज्ञ हरिसिंह गुरुङका अनुसार घाटुजस्ता मौलिक संस्कृतिलाई ग्रामीण पर्यटनको महत्वपूर्ण आधारका रूपमा लिन सकिन्छ । “पर्यटकहरू अहिले स्थानीय मौलिकता हेर्न गाउँतर्फ आकर्षित भइरहेका छन्,” उनले भने, “घाटु नाचलाई व्यवस्थित संरक्षण र प्रवर्द्धन गर्न सके ग्रामीण अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्न सक्छ ।”
इतिहासअनुसार पन्ध्रौँ शताब्दीतिर सुरु भएको मानिने घाटु नाचमा राजा पशुराम र रानी यम्फावतीको प्रतीकस्वरूप कन्यालाई घाटु बनाएर नचाउने परम्परा रहिआएको छ । तनहुँ, गोरखा, लमजुङ र चितवनका गुरुङ समुदायमा यो परम्परा अझै जीवित रहेको पाइन्छ ।

अभियान्ता रञ्जित गुरुङका अनुसार नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति हस्तान्तरण गर्न तथा पर्यटन प्रवर्द्धन गर्न घाटु नाच महत्वपूर्ण माध्यम बन्दै गएको छ । सतीघाटु र बाराम घाटुजस्ता विभिन्न प्रकारका घाटु नाच पञ्चमीका दिन पूजा गरिने तथा चण्डीथानजस्ता पवित्र स्थलमा विधिपूर्वक समापन गर्ने चलन रहेको स्थानीयले बताएका छन् ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट