गैंडाकोट, २४ वैशाख ।
कालिका संस्कृत विद्यापीठमा विद्यार्थीहरूका लागि डिजिटल सिकाइको थालनी गरिएको छ । परम्परागत रूपमा संस्कृत शिक्षाको पठनपाठन हुँदै आएको अवस्थामा अब संस्कृत र प्रविधिलाई जोडेर शिक्षण–सिकाइ सञ्चालन गर्ने बाटो खुलेको छ ।
कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत विद्यापीठमा ई–लाइब्रेरी स्थापना गर्न कम्प्युटर तथा अन्य शैक्षिक सामग्री सहयोगस्वरूप प्रदान गरेको हो ।
बिहीबार आयोजित कार्यक्रममा बैंकका सञ्चालक सञ्जीव पौडेल, मार्केटिङ विभाग प्रमुख बिना शर्मा तथा प्रदेश कार्यालय वीरेन्द्रनगरका निर्देशक रामप्रसाद गजुरेलको उपस्थितिमा उक्त सामग्री विद्यापीठलाई हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बिना शर्माले संस्कृत अध्ययन गर्ने विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा संस्था खुसी भएको बताउनुभयो । त्यस्तै, सञ्चालक सञ्जीव पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक क्षेत्रमा सहयोग गर्न कालिका संस्कृत विद्यापीठ सँग सहकार्य गर्न पाउनु सुखद अवसर भएको उल्लेख गर्नुभयो ।
कार्यक्रम विद्यापीठ सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थी काजिस खनालले संस्कृत र प्रविधिलाई जोडेर अध्ययन–अध्यापन गर्नु वर्तमानको आवश्यकता रहेको बताउँदै यसले विद्यार्थीहरूको सिकाइ क्षमतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यार्थी सञ्चालक समिति सदस्य, समाजसेवी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
विद्यापीठमा हाल कर्मकाण्ड प्रशिक्षण तथा ज्योतिष परामर्श केन्द्र स्थापना गरी जीवनोपयोगी सीपसम्बन्धी कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।




