चितवन, २२ वैशाख ।
फेन्सी व्यवसायीहरूको राष्ट्रिय स्तरको छाता संगठन गठन गर्ने उद्देश्यसहित देशभरका फेन्सी जिल्ला संघहरूको राष्ट्रिय भेला आउँदो जेठ २३ र २४ गते चितवनमा आयोजना हुने भएको छ ।
महासंघ निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलका अनुसार उक्त भेलामा देशभरका फेन्सी व्यवसायी संघहरूको व्यापक सहभागिता रहनेछ । भेलाले फेन्सी व्यवसायलाई व्यवस्थित, एकीकृत र सशक्त बनाउने लक्ष्य लिएको छ ।
भेलामा महासंघ गठनसम्बन्धी आवश्यक छलफल, विधान निर्माण, संगठनात्मक संरचना तय तथा भावी कार्यदिशाबारे विस्तृत बहस हुने कार्यक्रम रहेको जनाइएको छ ।
यसका साथै व्यवसायीहरूका साझा समस्या, बजार व्यवस्थापन, कर प्रणाली तथा व्यवसाय प्रवर्द्धनका विषयमा पनि छलफल गरिनेछ । संयोजक पौडेलले सबै जिल्ला संघहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै यस भेलाले फेन्सी व्यवसायीहरूको हकहित संरक्षण र व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।





