मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा, अनुसन्धानप्रति आपत्ति

मकवानपुर, २१ वैशाख ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार छापा मारेको छ । अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा विभागले काठमाडौं र हेटौंडास्थित घर तथा निर्माण सम्बन्धी कार्यालयमा एकैपटक छापा मार्दै अनुसन्धान सुरु गरेको हो ।

प्रहरीका अनुसार काठमाडौंको नक्साल र सुन्धारा तथा हेटौंडा–५, पिप्लेस्थित घर–कार्यालयमा विभागको टोली पुगेको थियो । हेटौंडास्थित निवासमा विभागका चार कर्मचारी र तीन प्रहरीसहितको टोली करिब दुई घण्टा बसेर कागजात जाँच गरेको र केही कागजात नियन्त्रणमा लिएको बताइएको छ । टोली मध्यान्ह करिब १२ बजे पुगेको र २ बजेसम्म बसेको थियो ।

छापामारीका लागि विभागले आइतबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरसँग सुरक्षा समन्वय मागेको थियो भने प्रहरीले सादा पोशाकसहित आवश्यक जनशक्ति परिचालन गरेको जनाएको छ । ‘क’ वर्गका निर्माण व्यवसायीसमेत रहेका बानियाँविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जनाएको छ ।

मुख्यमन्त्रीको आपत्ति
छापामारीप्रति मुख्यमन्त्री बानियाँले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । आफूले सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राख्दै आएको दाबी गर्दै उनले अनुसन्धानलाई सकारात्मक रूपमा लिएको बताएका छन् ।

“संवैधानिक र कानुनी दायराभित्र रहेर हुने जुनसुकै अनुसन्धानमा मेरो पूर्ण सहयोग रहनेछ,” विज्ञप्तिमा उनले उल्लेख गरेका छन् । साथै, छापामारी घटनाबाट भ्रमित नहुन प्रदेशवासी र शुभेच्छुकलाई आग्रहसमेत गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट