सिस्नुपानी नेपाल मकवानपुरले विद्यार्थीबिच हास्यव्यङ्ग्य प्रतियोगिता र २ हास्यव्यङ्ग्य स्रष्टाहरूलाई ४५ हजार राशिसहित सम्मान कार्यक्रम गरेको छ ।
मकवानपुर जिल्लाभित्रका कक्षा १२ सम्मका विद्यार्थीहरूबिचको हास्यव्यङ्ग्य प्रहसन प्रतियोगितामा नवोदय शिशु सदन प्रथम भएको छ । सो प्रतियोगितामा नवोदयले १५ हजार राशिसहित पहिलो पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा १० हजार राशिसहित जनप्रिय मावि दोस्रो, ७ हजार राशिसहित बुद्ध मावि तेस्रो र ४ हजार राशिसहित शारदा माविले प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ ।
हास्यव्यङ्ग्यका विविध प्रस्तुति र प्रतियोगिता गर्दै आएको सिस्नुपानीले नवपुस्ताको कलाकार पहिचान गर्दै आगामी कार्यक्रमहरूमा नवपुस्तालाई समावेश गर्ने र हास्यव्यङ्ग्य कलाकारिताप्रति रूची जगाउने उद्देश्यका लागि सो कार्यक्रम आयोजना गरिएको अध्यक्ष संप्रस पौडेलले बताए ।
कार्यक्रममा सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष तथा फित्कौली अनलाइनका प्रधान सम्पादक नरनाथ लुइँटेललाई २५ हजार रूपैयाँ राशीको गणेश पौडेल हास्यव्यङ्ग्य सम्मान २०८२ बाट सम्मान गरिएको छ । युवा हास्यव्यङ्ग्यकार सीता न्यौपानेलाई संस्थाले २० हजार राशिको आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८२ बाट सम्मान गरेको छ । उनले महिला सशक्तिकरणका साथसाथै युवाहरूमा अध्ययनको आवश्यकता रहेको विषयवस्तु राख्दै हास्यव्यङ्ग्य प्रस्तुत गरेकी थिइन् ।
सिस्रुपानी नेपाल मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित प्रतियोगितामा मकवानपुर जिल्लाभित्र अध्ययनरत कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी भएका थिए । सहभागी विद्यार्थीहरूलाई २ चरणमा छनोट गरिएको, अङ्क निर्धारण गर्दा विषयवस्तु, हास्य र व्यङ्ग्यका विधि तथा शैली, अभिनय, समय व्यवस्थापनजस्ता क्षेत्रमा विशेष ध्यान दिइएको निर्णायक मण्डलका संयोजक उज्ज्वल शर्मा भण्डारीले बताए ।
प्रतियोगितामा सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक वेथितिलगायतका समसामयिक विषयहरूमाथि विद्यार्थीहरूले हास्यव्यङ्ग्य प्रस्तुति दिएका थिए ।





